मौसम परिवर्तनसँगै बिरामीको चाप बढ्दो, डेङ्गु सङ्क्रमित पनि बढ्यो

वीरगञ्ज (पर्सा) । मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ ।
बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता आएको मौसमी परिवर्तनले अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए ।
मौसममा आएको परिवर्तनका कारण रुघाखोकी, ज्वरो, निमोनियालगायत बिरामी दैनिक करिब २० देखि २५ जनासम्म उपचारका लागि आउने गरेको उनले बताए । यस्तै पछिल्लो केही दिनयता दैनिक चार-पाँच जनासम्म डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउने गरेको प्रवक्ता डा. सिंहको भनाइ थियो ।
अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले श्ययाको अभाव भएको र भूइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । यसैबीच बढ्दो डेङ्गु सङ्क्रमणलाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ ।
प्रतिक्रिया