विद्यार्थीलाई किताब बोक्न नपर्दा …

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गरेका छन् ।
विद्यालयले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाए पछि उनलाई हिजोआज सजिलो भएको छ ।
पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो भार कम भएको उनको भनाइ थियो । छात्र बोहराले भने, ‘किताब र खाजा विद्यालयमा नै उपलब्ध हुन्छ, अहिले कपी कलम मात्र लिएर आउँछु सजिलो भएको छ ।’
चालु शैक्षिक सत्रदेखि कालिका नमूना माध्यमिक विद्यालय गैँडाकोट नगरपालिका–८ ले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाएको हो । विद्यालयको हरेक कक्षामा ‘बुक कर्नर’ बनाएर विद्यार्थीलाई आवश्यक पाठ्यक्रमका पुस्तक उपलब्ध गराउने गरिएको छ ।
पहिले झोला गहुँगो भयो भन्ने विद्यार्थी अहिले खुसी भएर विद्यालय आउने गरेका छन् । कक्षा २ मा अध्ययनत छात्रा वर्षा भुसाल पनि विद्यालयको सुविधाले खुसी छिन् । शिक्षकले किताब नल्याउन र स्कुलकै किताब पढ्न भने पनि उहाँले कहिलेकाहीँ किताब लिएर आउने गरेको जानकारी दिए ।
बालबालिकालाई सहज सिकाइ गराउन कक्षा कोठामा नै पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक प्रजानाथ कँडेलले जानकारी दिए ।
‘बालबालिकालाई सहज तरिकाले सिकाइ गराउन यो व्यवस्था गरेको हो’, उनले भने, ‘अलिकति आर्थिक भार थप भएको छ, अर्को शैक्षिक सत्रदेखि अझ सहज हुने छ ।’ अहिले विद्यार्थीको घरमा ‘एक सेट’ पुस्तक छ भने उनीहरूले विद्यालयमा पनि सोही किताब पढ्न पाउँछन् ।
विद्यालयमा यस शैक्षिक सत्रमा दुई विद्यार्थीका लागि एक सेट पुस्तक उपलब्ध छ भने २०८१ को शैक्षिक सत्रदेखि प्रत्येक विद्यार्थीलाई एक सेट पुस्तक उपलब्ध गराउने तयारी गरिएको प्रधानाध्यापक कँडेलले बताए ।
विद्यार्थीलाई सहज बनाउन विद्यालयले गरेको प्रयासलाई अभिभावकले पनि प्रशंसा गरेका छन् । गहुँगो झोला बोकेर विद्यालय जाँदा हुने सास्तीबाट विद्यार्थीले राहत पाएको अभिभावकको भनाइ छ ।
प्रतिक्रिया