देउसी किन खेलिन्छ ?

काठमाडाैं । नेपालमा हिन्दु परम्पराअनुसार तिहारलाई यसपञ्चक, बलीको राज्य र दीपावलीसमेत भन्ने गरिन्छ । यसराजले आफ्नी बहिनीको घरमा पाँच दिनसम्म बसेर आफ्नो घर फर्केको हुँदा यमपञ्चक, मत्र्यमण्डलमा पाँच दिनसम्म बलीले राज्य गर्ने हुँदा बलीको राज्य र यस पर्वमा घरघरमा झिलिमिली बत्ती बालेर लक्ष्मीको पूजा गरिने र लक्ष्मीको स्वागत गरिने हुँदा दीपावली भनेर यस पर्वलाई चिनिने गरिन्छ ।
देउसी खेल्नुको यथार्थ भने अर्कै छ । देउसी खेल्दा हामी त्यसै आएनौँ– देउसी रे, बलिराजाले पठाको– देउसी रे आदि भन्ने गरेको सुनिन्छ र भनिन्छ पनि । तिहारको पाँच दिन नै दैत्यराज बलीले राज्य गरेको शास्त्रहरुमा बताइएको छ ।
बलिराजाले ठूलो तपस्या गरी देवताहरुलाई युद्धमा जितेर तीन लोक चौध भुवनमा राज्य गरेका थिए । देवताहरुलाई हराएर राज्य चलाए पनि अन्य दैत्यसरह उनले कुकृत्य भने गरेनन् । उनी धर्मकर्ममा निपूर्ण थिए । उता, देवताहरु भगवान् विष्णुकोमा गई राक्षसहरुले हराएको कुरा पहिले नै बताएका थिए । तर, राजा बलीका भक्तिका कारण भगवान् विष्णुले देवताहरुको भनाइलाई त्यति चासो नदिएर म भक्तको अधीनमा रहेको र बलीको पुण्य सकिएपछि राज्य दिलाउने बताए ।
उता, बलीले ठूलो यज्ञ गरी गरिब, निमुखा र ब्राह्मणलाई आवश्यक परेको कुरा दान दिन लागे । राजा बलीको दानरुपी यज्ञले पृथ्वीलाई नै हल्लाउन थालेको थियो । उता, भगवान् विष्णुले पनि राजा बलीको पुण्य सकिएको थाहा पाई अब बलीलाई पाताल पठाउनुप¥यो भनी अर्को अवतार लिने विचार गर्नुभयो र वामनको रुप धारण गरी अवतरित हुनुभयो ।
केही समयपछि भगवान् विष्णुको उपनयन कर्म भयो र भिक्षाका लागि कुमारको रुप धारण गरी राक्षस राजा बलीको यज्ञस्थलमा भिक्षाम् देही भन्दै जाने काम गर्नुभयो । दान दिनमा पोख्त राजा बली पनि यस्तो अपूर्व कुमारलाई देखेर प्रसन्न हुँदै भन्न लागे– हे कुमार, तिमीलाई के चाहिन्छ माग । कुमाररुपी वामन भगवान्ले केही चाहिँदैन, एक छाक खान पुग्ने अन्न देऊ भनी माग्नुभयो । तर, वामनलाई चित्त बुझेन र भन्न थाले– अलि माग, त्यति जाबो के मागेको ? भगवान् वामनलाई पनि के खोज्छस् काना आँखो भयो । वामनले उसो भए तीन पाउ भूमि मलाई देऊ, त्यति भएपछि सुत्ने ठाउँ पुग्छ भन्ने कामना गर्नुभयो । यति भन्दा पनि राजा बलीलाई चित्त बुझेन । उनी अझ अलि धेरै माग्ने अनुरोध गर्न पुग्छन् । वामनले यतिमात्र भए पुग्छ भनेपछि राजा बली तीन पाउ भूमि दिनका लागि तयार हुन्छन् र आफ्ना गुरू शुक्राचार्यलाई संकल्पका लागि आग्रह गर्छन् । तर, राक्षसका गुरू शुक्राचार्यलाई भूमि माग्ने भगवान् विष्णु भएको जानकारी गराउँछन् ।
तर, वाचा–बन्धनमा परेका राजा बली तीन पाउ भूमि दिने निश्चय गर्छन् । मन नलागीकन नै शुक्राचार्य संकल्प गरिदिन्छन् र बली वामनलाई भूमि नाप्न आग्रह गर्छन् । वामनले जब भूमि नाप्न थाल्छन्, तब उनको एउटै पाइलाले मत्र्यमण्डल ढाकिन्छ । अब तेस्रो पाइला राख्ने ठाउँ कतै फेला पर्दैन । सत्यवादी बली अर्को पाइला दिने ठाउँ नपाई चुप लागेर बस्ने काम गर्छन् । भगवान् वामनले बलीलाई तिम्रो शिर देऊ, शिर देऊ भनेर बलीको शिरमा टेकी उनलाई पाताल पठाउने काम गर्छन् । भनिएको छ, अतिरपेण वै सति अति गर्वेण रावण, अति दानात बलिर्बध्वा तस्मात् अति विवर्जयेत् ।
बलीलाई पाताल पठाउनुअघि वामनले सत्यवादी भएको र धर्ममा निपूर्ण भएकाले पाँच दिन यस मत्र्यमण्डलमा राज्य गर्नु भनी वरदानसमेत दिने काम गर्छन् । त्यसै वरदानस्वरुप बलीले तिहारको पाँच दिन नै मत्र्यमण्डलमा राज्य गर्ने र उनको राज्यको समयमा सबैले देऊ शिर भनेर शिर माग्ने गरेको भनाइ रहेको छ ।
यसरी भगवान् वामनले सत्ययुगमा शिर देऊ भनेको हुँदा अहिले पनि त्यस्तै सम्झनास्वरुप देउसी खेलेको शास्त्रमा उल्लेख छ । बलीले राज्य गर्दा कलिको प्रवेश हुने र गाउँघरमा सामान्य जुवातास खेलेर कलिको झल्को दर्शाउने पनि गरेको पाइन्छ ।
प्रतिक्रिया