बुधबार, वैशाख १०, २०८२

सिकलसेल थालेसिमिया र हेमोफिलियाका बिरामीलाई निःशुल्क बिमा

नेपालखोज २०८० पुष २६ गते १४:१३

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरूका परिवारलाई निःशुल्क बिमा कार्यक्रम सुरु गरेको छ ।

प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट निःशुल्क बिमा कार्यक्रम सुरु गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका–३ का आरुस थारुलाई बिमा कार्ड हस्तान्तरण गरी बिमा कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

सिकलसेलका बिरामीलाई उपचारमा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरूका परिवारलाई निःशुल्क बिमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताउनुभयो ।

उहाँले स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न बिमा कार्यक्रममा सबैलाई जोड्न आवश्यक रहेको पनि बताउनुभयो । ‘विपन्न तथा गरिब परिवारलाई बिमा कार्यक्रममा समेट्न झनै आवश्यक छ उहाँले भन्नुभयो–‘नत्र उपचार अभावमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।’

उहाँले सिकलसेल र थालेसिमिया रोगको अवस्था जटिल जनस्वास्थ्य समस्या भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी ढङ्गबाट लैजाने प्रतिबद्धता जनाउनुभयो । सिकलसेलका बिरामीको उपचारका लागि बर्दियामा सिकलसेल अस्पताल निर्माणाधीन अवस्थामा रहेकाले त्यसलाई प्रदेश सरकारको मातहतमा रहने गरी सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।

उहाँले उक्त अस्पतालका लागि प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो । कार्यक्रममा सहरी विकास मन्त्री कृष्णा केसीले सिकलसेल तथा थालेसिमियाका परिवारलाई आर्थिक आर्य आर्जनसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

रोगबाट पीडित परिवारलाई उनीहरूको आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरू प्रदेश सरकारले ल्याउन आवश्यक रहेको औँल्याउनुभयो । आफ्नै निर्वाचन क्षेत्रबाट बिमा कार्यक्रम सुरु गरिएकोप्रति खुसी व्यक्त गर्नुभएकी मन्त्री केसीले यसलाई प्रभावकारी र अझै व्यवस्थित बनाएर लैजानु पर्ने सुझाव दिनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु कुमारी थारुले सिकलसेल तथा थालेसिमिया बिरामीलाई उपचार र बिमासँगै आर्थिक आयआर्जनका कार्यक्रमसँग जोड्ने गरी योजना ल्याउन मन्त्री खनालको ध्यानाकर्षण गराउनुभयो । उहाँले सिकलसेलका बिरामीलाई आजीवन उपचारको व्यवस्था सरकारले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामीको बिमा गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोग नियन्त्रणका लागि गाउँपालिकाले रोगीको पहिचान गर्ने र चेतना जगाउने काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य सन्जु चौधरी ,माया पुन , सुशीला नेपाली, मिना सिद्दिकी, स्वास्थ्य मन्त्रालयका सचिव डा जनार्दन पन्थी , स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोद कुमार गिरि, भेरी अस्पताल विकास समिति अध्यक्ष वीरेन्द्र शाह लगायतको उपस्थिति रहेको थियो । -INS

प्रतिक्रिया