डाक्टरभन्दा धामीझाँक्रीकै भर !

डोटी । दिपायल सिलगढी नगरपालिका-९ की २२ वर्षीया उजलीदेवी (नाम परिवर्तन) बिहीबार साँझ करिब ७ः३० बजे डोटी जिल्ला अस्पताल पुगिन् । सुत्केरी व्यथाले च्यापेपछि लागेपछि उनी सासू र छिमेकी महिलासहित अस्पताल पुगेकी थिइन् ।
व्यथाले च्याप्दै गएपछि राती करिब १० बजे उनको पुरै पाठेघर खुल्यो तर बच्चा जन्माउन सकिनन् । स्वास्थ्यकर्मीहरुले उनलाई शल्यक्रिया गर्नु पर्ने बताए । उजलीको परिवारले समयमै शल्यक्रिया गर्न नमानेपछि बच्चाको पेटमै मृत्यु भयो ।
पाठेघर खुलेको दुई घण्टा पछिसम्म पनि बच्चा बाहिर निस्किन नसकेपछि स्वास्थ्यकर्मीहरुले उनलाई शल्यक्रिया गर्नु पर्ने बताए । उजलीकी सासूले सो खबर फोनमार्फत रोजगारीका लागि भारतमा रहेका छोरा (उजलीका श्रीमान्) र गाउँमा रहेका परिवारका अन्य सदस्यहरूलाई सुनाइन् ।
छोराले तत्काल शल्यक्रिया नगर्न भने, घरबाट पनि यस्तै खबर आयो । ‘लागो दोष (देवताको दोष) होला, अहिल्यै अपरेसन नगर्नु भन्यो छोराले’ उजलीकी सासू भन्छिन् ‘भोली देवता सोधेर मात्रै हुन्छ भनेपछि हामीले अपरेसन नगर्न भन्यौँ ।’
उनको घरबाट पनि यस्तै जवाफ आयो । स्वास्थ्यकर्मीहरूले उजली, उनकी सासू र साथमा रहेका आफन्तहरूलाई राती २ बजेसम्म सम्झाउने कोसिस गरे । तर, भारतबाट श्रीमान्ले कुर्न भनेपछि अरूले शल्यक्रियाका लागि सहमति दिन सकेनन् ।
‘हामीले आमा र बच्चा दुवैको ज्यान खतरामा छ, छिटो शल्यक्रिया गर्नु पर्छ भनेर धेरै सम्झायौँ’ अस्पतालका विशेषज्ञ चिकित्सक डा निराजन श्रेष्ठ भन्छन् ‘ढिलो भयो भने आमा र बच्चा दुवैलाई बचाउन गाह्रो हुन्छ भन्दा पनि उहाँहरू मान्नु भएन ।’ आफन्तहरूले देउता नसोधी शल्यक्रिया नगर्ने अडान नछोडेको डा श्रेष्ठ बताउँछन् ।
बिहान करिब ८ बजे आफन्तहरूले गाउँकै धामीको घरमा देउता सोधे । ‘सङ्कट त सङ्कट छ तर ३÷४ घडयौला (घण्टा) केही हुन्न म टेक्छु (रोक्छु), बच्चा सामान्य रूपमै जन्मिहाल्छ भनेको हो रे देउताले’ उजलीकी सासूले भनिन् ‘देउताले यति भनेपछि हामी ढुक्कै भयौंं ।’
अवस्था जटिल बन्दै गएपछि अस्पताले शल्यक्रियाका लागी तयार हुन वा अन्यत्र लैजान आग्रह गर्यो । डा. श्रेष्ठले भारतको दिल्लीमा रहेका उजलीका श्रीमानसँग भिडियो कलमा कुरा गरे ।
‘मैले उहाँलाई आमा र बच्चाको अवस्था बिग्रँदै छ कि अपरेसन गर्ने सहमति दिनुहोस् कि अन्यत्र लैजानुहोस् भने’ डा. श्रेष्ठ भन्छन् ‘मैले धेरै आग्रह गरेपछि उहाँले सहमति त दिनु भयो तर धेरै ढिलो भइसकेको रहेछ ।’
छोराले शल्यक्रियाका लागि सहमति दिएपछि आमा (उजलीकी सासू) ले सहमति पत्रमा हस्ताक्षर गरिन् । सहमति लगत्तै शुक्रवार बिहान ९ बजे डा श्रेष्ठ नेतृत्वको टोली शल्यक्रियाको तयारीमा जुट्यो ।
शल्यक्रियापूर्व शिशुको अवस्था थाहा पाउन भिडियो एक्स–रे गरियो । तर तबसम्म गर्भमै बच्चाको ज्यान गइसकेको रहेछ । बच्चाको मृत्यु भएको जानकारी पाएको चिकित्सक टोलीले भ्याक्युम डेलिभरीमार्फत मृत बच्चा बाहिर निकाल्यो ।
‘धेरै प्रयास गर्दा पनि उहाँहरू मान्नु भएन, बच्चाको ज्यान गयो’ दिक्दार देखिएका डा श्रेष्ठ भन्छन् ‘देउतामा बढी विश्वास गर्दाको परिणाम यस्तो आयो ।’ आमाको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाई छ ।
यसरी डाक्टरभन्दा देउतामा विश्वास गर्नेहरूको संख्या धेरै रहेको डा श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘भूतप्रेत र देवता लागेका कारण समयमै सन्चो नभएको भन्ने बिरामीहरू धेरै आउँछन् ।’
उनी दुई वर्ष पहिले देउतामै विश्वास गर्दा १४ वर्षीय एक बालकले ज्यान गमाएको सम्झिन्छन् ।
‘बच्चालाई डिहाईडेसन भइसकेको थियो, हामीले अस्पतालमै भर्ना गरेर उपचार गराउनु पर्छ भन्यौँ’ उनी भन्छन् ‘तर उहाँहरूले मान्नै भएन, हामी देउता सोध्छौँ भन्दै जबरजस्ती घर लगेर जानु भयो ।’
यस्ता घटनाहरूले आफूलाई दिक्दार बनाउने गरेको डा श्रेष्ठको भनाई छ ।
उनी धामीझाक्रीहरुले यस बारेमा सचेत हुनु जरुरी रहेको बताउँछन् ।
‘विभिन्न संघसंस्थाहरुले धामीझाक्रीहरुलाई तालिम दिइरहेका छन् भन्ने पनि सुनिन्छ’ श्रेष्ठले भने ‘तर पनि सुधार भएको देखिँदैन ।’
देवी देउताको नाममा धामीझाक्रीहरुले कसैको ज्यानमाथि खेलबाड गर्न नहुने डा. श्रेष्ठको भनाई छ ।
प्रतिक्रिया