बिहीबार, असार १४, २०८१

संरक्षणमा ध्यान जान नसक्दा लोप हुँदै लोटोकोसेरो तथा हुचिल

नेपालखोज २०८० माघ ९ गते १५:२९

काठमाडाैं । किसानको साथीका रुपमा परिचित लाटोकोसेरो र हुचिलको अवैधरुपमा चोरी शिकारी रोक्न यहाँ लाकोटोसेरो र हुचिल उत्सव हुने भएको छ। प्रसिद्ध पर्यटकीय क्षेत्र पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा यही माघ १९ र २० गते लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो। ‘प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरु’ नामक संस्था तथा गाउँपालिकाकोे आयोजनामा दुई दिनसम्म उत्सव गर्न थालिएको हो।

उत्सवमा लाटोकोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा परिचर्चा गरिने भएको छ। स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको पत्रकार सम्मेलनमा लाटोकोसेरो संरक्षण अभियानकर्मी राजु आचार्यले जानकारी दिए । अवैध चोरीनिकासी, वन विनाश, विषादीको प्रयोगका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथी नाम संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले बताए। लाटोकोसेरो तथा हुचिल उत्सव नेपालबाहेक अमेरिका र इटालीमा मात्र हुँदै आएको छ। संरक्षणका हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको आचार्यले बताए ।

यसअघि धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ, स्याङ्जा र कैलालीमा उत्सव आयोजना गरिएको छ। ‘लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौँ’ भन्ने नारासहित सञ्चालन हुने लाटोकोसेरो उत्सवमा लाटोकोसेरोसम्बन्धी जानकारी भएको सूचना, चित्र तथा तस्बिर प्रदर्शनी, लाटोकोसेरोको नमुना चित्रकलासमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

उत्सव आयोजना गरिनुपूर्व नै जलजलाका विभिन्न विद्यालय र समुदायमा पुगेर लाटोकोसेरो तथा हुचिलको महत्व र अवस्थाका बारेमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर लाटोकोसेरोको संरक्षण गर्नुपर्ने विषयमा स्थानीयलाई जानकारी गराइसकिएको छ। उक्त अवधिमा लाटोकोसेरो तथा हुचिलका बारेमा कविता तथा निबन्ध प्रतियोगिता सम्भावित क्षेत्रको अवलोकनलगायतका काम गरिसकिएका छन्।

उत्सवका अवसरमा लोपोन्मुख स्थानीय खेल ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने, एकखुट्टे प्रदर्शनीसहित भजन, पञ्चेबाजा, यानीमाया, पुख्र्यौंली नाच, सालैजो गाउने र बजाउनेलगायत कार्यक्रम राखिएका छन्। वन विज्ञान अध्ययन संस्थान पोखराको पनि विशेष प्रस्तुति रहने कार्यक्रममा चरा तथा प्रकृतिको अवलोकनका साथै लाटोकोसेरो तथा हुचिलको अस्थायी सङ्ग्रहालयको पनि निर्माण गरिने आयोजकले बताएको छ।

यस्तै हुचिल संरक्षणसम्बन्धी प्रवचन, नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मुकुट प्रदर्शनी, लाटोकोसेरोको आवाज सुन्ने र एक फिट अग्लो रोबोट प्रदर्शनी, लाटोकोसेरोका बारेमा फोटो प्रदर्शनी तथा जानकारी, स्थानीय सामग्रीको प्रदर्शनी एवं बिक्री र प्रकृति संरक्षण पुरस्कार वितरण गर्ने काम पनि उत्सवकै अवसरमा हुनेछन्।

रु २५ हजार पुरस्कार रहेको राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार यस वर्ष काठमाडौ क्षेत्रपाटीका राजेन्द्र सुवाल, कैलालीको भजनीका हिरुलाल डगौरा, सिन्धुपाल्चोकको बाह्रबिसेका कुमार पौडेल र बाँकेको कोहलपुरका यामबहादुर रावतलाई दिन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। नेपालमा पाइने २३ प्रजातीका लाटोकोसेरोमध्ये आठ प्रजातिका दुलर्भ किसिमका छन्। यो उत्सवले लाटोकोसेरो संरक्षणका लागि समुदायको चेतना अभिवृद्धिका साथै फलामेडाँडाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय युवा पुर्खा पुर्जा पुनले बताए ।

नेपालबाट बर्सेनि लोटोकोसेरो तथा हुचिल जातको पन्छी चोरी शिकारी हुँदै गए पनि संरक्षणको अभावमा लोप हुँदै गएको छ। बर्सेनि करोडौँ मूल्यको लाटोकोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्करी हुँदै आए पनि संरक्षणमा कुनै निकायको ध्यान जान नसक्दा लोप हुँदै गएको हो।

कृषकले मेहनत गरी उब्जाएको अन्नबाली खाएर दुःख दिने मुसो लाटोकोसेरोको मुख्य आहारा हो। यसले राति मात्र आँखा देख्छ र रातमा मात्र मुसाको सिकार गर्छ। यो पन्छीको टाउको झट्ट हेर्दा बिरालो जस्तो देखिए पनि यसको शरीर पन्छीको जस्तै हुन्छ। यसको सङ्ख्या बर्सेनि घट्ने क्रममा रहेकाले संरक्षणमा जुटेको संस्थाले जनाएको छ। उत्सवमा पर्वत, बागलुङ र म्याग्दीलगायत चराविद् र सरोकारवाला संस्थाका गरी तीन हजारभन्दा बढीको उपस्थिति हुने अपेक्षा गरिएको छ। – INS

प्रतिक्रिया