बजेट अभावले कभर्ड हल निर्माण अधुरै
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित निमार्णाधीन कभर्ड हल बजेट अभावले सम्पन्न हुन सकेको छैन । विसं २०७४ देखि निर्माण थालिएको उक्त कभर्ड बजेट अभावका कारण काम पूरा हुन नसकेको वडा नं २ का वडाध्यक्ष पदमसिंह रावलले जानकारी दिए । ‘कभर्ड हल निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट केही बजेट आए पनि रकम अभाव हुँदा निर्माणले पूर्णता पाउन सकेको छैन’, उनले भने ।
वडाध्यक्ष रावलले कभर्ड हल निर्माणमा अझै रु ४० लाख रकम लाग्ने अनुमान गरिएको जानकारी दिए । उनले आफूले नगरपालिकाबाट बजेट विनियोजन गर्न माग गरेपनि ठूलो रकम भएकाले बजेट विनियोजन नभएको बताए । ‘कभर्ड हलको छाना मात्रै छ त्यस बाहेक अन्य काम बाँकी छन्’, उनले भने, ‘नगरपालिकासँग प्रयाप्त बजेट नहुनु र अन्य निकायबाट बजेट नआउँदा निर्माणले पूर्णता पाउन नसकेको हो ।’
दोधारा चाँदनी नगरपालिकाका इन्जिनियर दीपेन्द्रराज भट्टले सुरुवातमा खेलकुद मन्त्रालयबाट खेलमैदान तथा कभर्ड हल निर्माणका लागि रु १० लाख बजेट आएको जानकारी दिए । ‘उक्त रकमबाट जग हाल्नेदेखि चार फिट पर्खाल निर्माण गर्ने काम गरियो । त्यसपछि लामो समयसम्म बजेट अभाव भएपछि काम रोकिएको छ’, उनले भने । आर्थिक वर्ष २०७७/७८ मा रु ५० लाख बजेट विनियोजिन भएर थप काम अघि बढेपनि रकम पर्याप्त नहुँदा हलले पूर्णता पाउन नसकेको भट्टको भनाइ थियो ।
यस क्षेत्रका खेलाडीका लागि महत्वपूर्ण संरचनाका रुपमा हेरिएको कभर्ड हल नबन्दा स्थानीय खेलाडी समस्यामा परेका उनीहरुको गुनासो छ ।
प्रतिक्रिया