छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घांटबेशीस्थित सडकमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेका लु.२ ख २१२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनास्थलबाट उद्दार गरिएका ३९ जना घाइतेमध्ये २९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र गजुरी अस्पतालमा उपचार भइरहेको छ भने १० जनालाई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । सामान्य घाइते भएका बस चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित हिरा इटा भट्टामा बा.२ क ६२४ नम्बरको मिनि ट्रक पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही महानगरपालिका–२२ फर्सडोल बस्ने दाङ लमही घर भएका २८ वर्षीय निम बहादुर कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवनको भरतपुर महानगरपालिका–११ भोजाडस्थित सडकमा प्रदेश २–०३–००१ ख ३७९८ नम्बरको टिपरले ना.३९ प २१०२ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–११ नबजिवन टोल बस्ने ३८ वर्षीय प्रेम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल र बा.प्र.०६–००२ प ७६५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएकोमा पुनः उक्त टिपरले मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो । तीनवटै सवारी साधन, टिपर चालक र बा.प्र.०६–००२ प ७६५ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ समादैजीस्थित सडकमा भे.१ क २११४ नम्बरको ट्रक र म.२ प ८५८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–९ पिपरीया बस्ने २५ वर्षीय पुरन रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्र्पणमा लिएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ धर्मपुरस्थित सडकमा लु.९ प १८७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश भरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाराको महागढीमाई नगरपालिका–९ पिप्रास्थित सडकमा बीआर ०५ एक्स ६७०२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय दरोगा बैठाको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया