आइतबार, वैशाख २८, २०८२

जलविद्युत् छ तर बत्ती बल्दैन

नेपालखोज २०८१ वैशाख ३१ गते १४:३४

ढोरपाटन (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा बस्न बाध्य छन् । वर्षौंदेखि यहाँस्थित लघु जलविद्युत्को भरमा रहेका स्थानीय पछिल्लो समय खोलामा पानीको मात्रा घटेपछि अन्धकारमा बस्न बाध्य हुन् ।

पानीको बहान कम हुँदै गएपछि विद्युत् उत्पादन कम पनि घटेको बताइएको छ । यतिबेला स्थानीयलाई एउटा चिम ९बल्ब० बल्न पनि मुस्किल परेको छ । साथै वडा कार्यालयबाट सेवा प्रवाहमासमेत समस्या हुँदै आएको छ । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसक्ने र बर्खामा बाढीले नहर बगाइदिँदा स्थानीय मारमा पर्दै आएका छन् ।

विद्युत् नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित बन्दै आएको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए । जलविद्युत् भए पनि रातमा अन्धकारमा बस्नुपर्ने बाध्यता यहाँका स्थानीयको रहेको उनको भनाइ छ ।

‘वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यब सबै इलेक्ट्रोनिक सामान छन् तर विद्युत् आपूर्ति नहुँदा हस्तलिखित सेवा प्रवाह गर्नु पर्ने बाध्यता छ’, वडाध्यक्ष छन्त्यालले भने, ‘आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो र छरितो बनाए पनि विद्युत्को समस्याका कारण प्रविधिदेखि टाढा हुनु परेको छ ।’

जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नपुग्दा सयौँ नागरिकले समस्या खेप्नु परेको वडध्यक्ष छन्त्यालले बताए । ‘यस वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीन वटै बस्तीमा तीन वटा साना लघु जलविद्युत् छन् । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तिसमेत बाल्न गाह्रो हुने गरेको छ’, उनले भने ।

नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाटको खालीखोला लघु जलविद्युत् आयोजना र भित्री वनमा छ किलोवाटको बराहथानखोला लघु जल विद्युत् आयोजना सञ्चालनमा रहेका वडध्यक्ष छन्त्यालले जानकारी दिए । यी सबै आयोजनामा दिनभरि ट्याङ्कीमा पानी जम्मा गर्ने र बिहान बेलुका बत्ती मात्रै बाल्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।

प्रतिक्रिया