सोमबार, वैशाख ८, २०८२

नेवार समुदायमा जात्राको रौनक

रामबहादुर थापा २०८१ भदौ ४ गते ८:३९

गण्डकी । सदियौँ पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ । नेवार जातिको लोकप्रिय नाच लाखे भने घण्टाकर्ण पर्वदेखि नै नचाउन सुरु हुन्छ ।

गत साउन २६ गते लाखे नाचले संस्कृतिमय पोखराको झल्को दियो । नेवाः खलः कचा पृथ्वीचोकले आयोजना गरेको लाखेनाच प्रतियोगितामा २० कलाकार समूहले भाग लिए । तीन समूह अप्रतियोगीका रुपमा मञ्चमा प्रस्तुत भए । पोखरा प्रदर्शनी केन्द्रमा दिनभर लाखेनाचको रौनक चल्यो । कलाप्रेमीले लाखे हेर्दे नेवारी परिकारको स्वाद लिए । दर्शकलाई नेवारी परिकार चखाउन प्रतियोगितास्थलमै ‘झो भ्वयः’ को प्रबन्ध गरिएको थियो ।

प्रतियोगितामा पोखराको मोहरिया सिंहनाथ टोल तायःमचाः समिति प्रथम, रामकृष्ण टोल ल्याम्ह पुचः दोस्रो, समाज कल्याण नेवाः खलः राजाको चौतारा तेस्रो र ग्रैहापाटन नेवाः समाज सान्त्वना भयो । विजेता समूहले क्रमशः ५५ हजार पाँच सय ५५, ३३ हजार तीन सय ३३, २२ हजार दुई सय २२ र ११ हजार एक सय ११ नगद पुरस्कार जिते । लाखे नाचको संरक्षण र पुस्तान्तरणको ध्येयले प्रतियोगिता आयोजना गरिएको मूल संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

लाखेनाच घण्टाकर्ण पर्वमा सुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति बियोगमा व्युहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती पाइन्छ । त्यसकै प्रतीकस्वरुप नेवार समुदायले बर्सेनि लाखेनाच प्रदर्शन गर्दै आएका छन् । नेवार समुदाय बसोबास गर्ने ठाउँअनुसार फरक–फरक तरिकाले लाखेनाच नचाउने गरिन्छ । लाखेनाचको प्रचलन र यसको इतिहासबारे पनि विभिन्न तर्क पाइन्छन् ।

लाखेनाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिङ्गारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायको बसोबास रहेको बागलुङ सदरमुकाममा पनि अहिले लाखेलगायत नाच प्रदर्शन भइरहेका छन् । बर्खे नाचलेसमेत चिनिने भदौरे जात्रा आजदेखि सुरु भएको छ । जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन रहेको नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।

भदौरे जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत नाच तथा झाँकी प्रदर्शन हुने उनको भनाइ छ । गाईजात्रा पर्वका अवसर पारेर वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकाल्ने गरिएको उनले बताए ।

बागलुङका नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रुपमा जात्राको परम्परालाई धान्दै आएका छन् । यहाँ नेपाल भाषा मंका खलः र शाक्य कल्याण समाजको अगुवाइमा भदौरे जात्रा र नाचको परम्परा धानिँदै आएको छ । लाखे र जोगीनाच शाक्य कल्याण समाजले निकाल्दै आएको छ । अन्य नाच नेपाल भाषा मकां खलःअन्तर्गत संरक्षित छन् । नेवार युवाहरुको संस्था नेवाः ल्याम्ह पुचः पनि जात्रा संरक्षणमा सक्रिय छ ।

झण्डै चार सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट बागलुङ आएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताए । ‘भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमको रुपमा जात्रालाई लिइन्छ’, उनले भने, ‘जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको छ, गाईजात्रा पर्वको दिनदेखि नै बर्खेनाच निकाल्न सुरु हुन्छ ।’

भदौरे जात्रामा देखाइने हरेक नाचका आ–आफ्नै परम्परा र ऐतिहासिक मान्यता छन् । घोडा नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्क्याउँदै बजार परिक्रमा गराउने चलन रहेको संस्कृतिकर्मी छोटाले बताए । कटुवाल नाचमा पनि युवाहरु विभिन्न रुपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे र खेतालालाई रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ ।

कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ । रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्कहरु महिलाको भेष धारणा गरेर नाचमा सहभागी हुन्छन् । हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन् । असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने गरिन्छ ।

प्रतिक्रिया