बुधबार, वैशाख १०, २०८२

सुनको सिक्री लुटपाट गर्ने व्यक्तिहरू पक्राउ

नेपालखोज २०८१ भदौ ६ गते १४:२७

काठमाडौं । सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भई काभ्रेपलाञ्चोक बनेपा बस्ने ३८ वर्षीय खनक भन्ने अनिल कुमार तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई ललितपुर ग्वार्खो बस्ने ३४ वर्षीय गणेश लामा र काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई काठमाडौँ गौशाला बस्ने ३१ वर्षीय रोहित भन्ने सुरेश तामाङ रहेका छन् ।

भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बस्ने ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री गत साउन २१ गते बिहान लोकन्थलीको बसस्टपमा अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौं र अपराध शाखा ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो । यसअघि अनिल उपर २०७१ जेठ १ गते प्रहरी वृत्त गौशालाबाट, गणेश उपर विभिन्न मितिमा ३ पटक प्रहरी वृत्त नयाँ बानेश्वरबाट र सुरेश उपर विभिन्न मितिमा प्रहरी वृत्त बौद्धबाट १ पटक तथा प्रहरी वृत्त गौशालाबाट ३ पटक अभद्र व्यवहार मुद्दा चलेको खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको ।

लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित संगिता खाजा घरकी संचालक दैलेख भैरवी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया संगिता कार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नगर प्रहरी कार्यालय सुर्खेत र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–११ बस्ने २४ वर्षीय निलजङ बस्नेत र मोरङ उर्लाबारी नगरपालिका–२ बस्ने २४ वर्षीय खुमराज भण्डारी रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–६ चम्मन चौराहस्थित गोकुलेश्वर मःम सेन्टरका संचालक सोही नगरपालिका–१८ निम्बुखेडा घर भएका ४४ वर्षीय मदन नाथलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ सय ६० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगाम पक्राउ

डोटी । आफ्नै श्रीमती ४५ वर्षीया नरू साउँदको हत्या गरेको अभियोगमा पूर्वीचौकी गाउँपालिका–५ उपरकाँडा बस्ने ५० वर्षीय पदी साउँदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पदीले आफ्नै घर आँगनमा हँसिया प्रहार गर्दा नरूको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सानागाउँ र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१५ किलो ९६० ग्राम अवैध लागूऔषध गाँजा बरामद

रौतहट । चन्द्रपुर नगरपालिका–१० घांगी टोल डेरा गरी बस्ने गौर नगरपालिका–६ सवगढा घर भएकी ४० वर्षीया ललिता देवी साहको कोठाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ९ सय ६० ग्राम बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय डुमरिया र इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ३ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार ललिताको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका–४ बस चोकस्थित सडकमा ना.३ ख १४५ नम्बरको ट्रकले को.२२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भोक्राहा नरसिङ गाउँपालिका–२ बस्ने ५२ वर्षीय रमानन्द मेहताको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुस्थित सडकमा लु.२ ख ६७६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय गोरख बेल्दारको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हुम्लाको चंखेली गाउँपालिका–२ गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०९२२ नम्बरको बलेरो जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार रमेश मल्लको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ६ जनामध्ये ३ जनाको सोही अस्पताल र ३ जनाको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका–४ जंगलघाटस्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० बर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको बासगढी नगरपालिका–१ सोते खोलास्थित बबई नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । बाराको महागढीमाई नगरपालिका–७ सिहनिया टोल बस्ने तहिद मियाको घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काभ्रेको धुलिखेल नगरपालिका–२ थिङ्ग गाउँस्थित दोलखा तामाकोशी गाउँपालिका–१ घर भएका शम्भु कार्कीको सस र चाउमिन बनाउने कारखानामा बिहीबार बिहान आगलागी हुँदा सस, चाउमिन, चाउमिन बनाउन प्रयोग हुने कच्चा पदार्थ, सस चाउमिन बनाउँने मेसिन १९ थान, कारखाना भित्र पार्किङ गरी राखेको बा.३९ प १७९७ नम्बरको मोटरसाइकल समेत पूर्णरूपमा जलेर नष्ट भएको छ । क्षतिको पूरा विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया