रारा किनारको छाप्रु महादेव

२०२० सालमा राजा महेन्द्र रारा पुगे । राराबाट यति मोहित भए कि कविता नै कोरे । राजा पुगेको एक वर्ष पछि प्रसिद्ध मानवशास्त्री क्रिस्टोफ भान फ्युयर पुगेका थिए । उनले राराको तस्विर तथा फिल्म पनि खिचे । तर पनि राराको प्रचार खासै हुन सकेन । ६० वर्ष अगाडि रारा पुग्नु त्यति सहज थिएन । रारासम्म राजा पुग्नु जति सहज जनताका लागि थिएन । रारातालको संरक्षण र प्रवर्धनका सपनाहरू बुनिए ।
राराताल नजिकै तीन बस्तीहरु मुर्मा, रारा र छाप्रु थिए । यि बस्तीमा रारा र छाप्रुमा मात्र करिव २३२ घरधुरी थिए । २३२ घरधुरीमा करिव १५०० को संख्यामा बसोबास थियो । अब बस्ती कसरी हटाउने भन्ने विषयमा निकै छलफल भयो । सैपाल हिमालको काखमा रहेको पहाडी भूभागमा कोणधारी जंगलले भरिएको यो रमणीय ठाँउमा बिभिन्न चराचुरुङ्गीको जलक्रिडा स्थल पनि भएको हुँदा राष्ट्रिय निकुञ्ज बनाउनु पर्ने निर्णय भयो । यसै बिच राजा महेन्द्रको स्वर्गारोहणले यो योजना केही वर्षलाई रोकियो ।
२०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको गठन गरियो । करिव १०६ वर्ग किमी ओगटेको यस क्षेत्रमा तालको भूभाग मात्र करिव ११ वर्ग किमी छ । साथमा तालको उत्तर पश्चिममा रहेको छाप्रु बस्ती, दक्षिण पश्चिममा रहेको मुर्मा बस्ती तथा दक्षिण पूर्वमा रहेको रारा बस्ती पनि समेटिएको थियो । अन्तत २०३५ सालमा छाप्रु तथा राराको बस्तीलाई अन्यत्र सार्ने निधो भयो । ति जनताहरुको लागी बाँके बर्दियाको बिच जंगलको भूभाग छुट्याइयो ।
उच्च पहाडी भूभागमा बसोबास गर्नेहरुको लागी तराइको उखरमाउलो गर्मीको बस्ती रोजियो । त्यो बेला पञ्चायतकालको उर्दीमा अस्विकार गर्ने वा बिरोध गर्न सक्नै कसैको आँट नै हुदैनथ्यो । केहीले त्यति टाढा तराइमा जानु भन्दा नजिकै कतै ठाँउ दिए हुन्थ्यो भन्ने बिचार सम्म गरे । तर कसैको सुनिएन । रारा वरपर बस्ने छाप्रु तथा रारा गाउँका बासिन्दा विस्थापित हुने भयो । रारा आदर्श गाउँपालिका वडा नं ६ बसोबास गर्ने रारावासीलाई बर्दिया जिल्लाको मैनापोखरमा सार्ने भयो ।
करिव ४५ वर्ष अगाडिको त्यो दिन गाँउलेको लागि पीडादायक दिन भयो । सरकारी कर्मचारी घर घरका ढोका ढकढकाउदै सरकारी निर्णय सुनाउने आएँ, बस्ती तुरुन्तै खालि गरि सरकारले दिएको तराइमा गएर बस्नु यो अनुरोध थिएन, आदेश थियो । अति मन बिझाउने आदेश, मुटु भित्र सम्म बिझ्ने आदेश । सयौ वर्ष देखी बाजेबराजु देखि बसिआएको थातथलो सधैको लागि छोडेर जाने आदेशले मन कटक्क भए पनि छोड्न तैयार भए । बस्तुभाउ नजिकैको बस्तीमा गएर जति भेटे उतिमै बेचविखन गरे । जे सकिन्छ बोकेर भारी कसे र जान तैयार भए ।
नयाँ ठाँउमा निकै सुविधा हुने तथा जग्गा मनग्गे पाउने आश्वासन दिइएको थियो । प्रति परिवार ३४ कट्ठा जमिन तथा बस्नलाई घर पनि बनाइदिने आश्वासन दिइएको थियो । आफ्ना जायजेथा माया मारेर घरको मूलढोकामा बलियो ताला लगाए । यिनीहरुको सोचाइमा सरकारले एकदिन फेरी यहि ठाँउ फर्कन दिनेछन् भन्ने मनमा आशा लिएर निस्केका थिए । करिव १५ दिन हिडेर सो नयाँ ठाँउमा पुग्दा बस्ने घरको कुरा त टाढै थियो ब्यबस्थित बसोबासको लागि पनि कुनै प्रबन्ध मिलाइएको थिएन । सबैभन्दा समस्या त त्यहि नजिकै बस्ने पुरानो बस्तीका मानिसहरुबाट झेल्न पुगेका थिए । आफ्नो सम्पूर्ण सम्पति त्यागेर सुकुम्वासी झै नयाँ वस्तीमा आएकाको समस्यालाई बुझेर सरकारले त्यहाँ पहिले देखि बसेका ३८ घरधुरीलाई अन्यत्र ब्यबस्थापन गराइए पछि बल्ल यि रारावासीलाई केही सन्तोष भयो ।
त्यसबेला दिइएको केही कागजपत्रहरू मेरो हात लागेको छ । जसका अनुसार २०३५ मंसिर ४ गते रारा आदर्श गाउँ पञ्चायत वडा नं. ६ बस्ने मनवीर कामीलाई मैनापोखरमा १ बिघा १४ कट्ठा जमिनका लागि मञ्जुरी लिइएको छ । उनले गरेको कबुलियतनामाका अनुसार मैनापोखरमा बस्न राजीभएको बुझिन्छ । त्यस्तै वडा नं ४ मा बसोवास गर्ने धनसुर बुढाले मंसिर ५ गते ६० मुरीको पाखो खेत रारा राष्ट्रिय निकुञ्जलाई दिन मञ्जुर गरेका छन् ।
अन्तत सबै रारा र छाप्रुवासीहरु एक एक गर्दै बर्दिया जान तैयार भए । गाउँ रित्तियो । गाउँलेले पूजा गर्ने देवीदेवता एक्लियो । पूजा गर्ने पनि कोही भएनन् । यसै मध्यको एक महादेव हुन् छाप्रु महादेव । यहाँ पनि वर्षौसम्म पूजा गर्ने कोही भएन । बिशेष दिनहरुमा मुर्माका गाउँले पूजा गर्न आउँथे । किनकी यो मन्दिर मुर्मा देखि नजिकै थियो । अन्य महादेवका मन्दिरमा रारा महादेव, ठाकुरनाथ महादेव पनि छन् ।
अहिले रारा र छाप्रु छोडेर जानेहरु खासै भेटिदैन । साना बालकका रुपमा बुबा आमाको हात समाउँदै गाउँ छोड्नेहरु पनि ५५-६० का भए । तिनले त्यो बेलाको पिडा खासै याद पनि छैन होला ।
प्रतिक्रिया