सोमबार, वैशाख ८, २०८२

हजारौं वर्षदेखिको दौड

कृष्ण कॅंडेल २०८१ भदौ १६ गते ६:०२

जहिलेदेखि मानव जातीको उत्तपती भयो त्यहींबाट ईश्वरीय “मिथ”को पनि जन्म भयो । कसैले प्रकृतिलाई नै ईश्वर माने कसैले यो संसार चलाउने एउटा अदृश्य शक्ति छ भन्ने कुरामा विश्वास गरे । समयको कालखण्डमा पूर्विय दर्शनमा विश्वास राख्नेहरूले युगलाई चार चरणमा विभक्त गरे ।

सत्य, त्रेता, द्वापर र कली । हामीले ईतिहासमा पढ्न पाउॅंछौं वितेका ति युगहरूमा सत्यको पक्षमा उभिएका महापुरूषहरूको जीवन गाथा । जो जो सत्यको पक्षमा उभिए उनीहरू आज हामीबीच छैनन् । जो जो सत्यको विपक्षमा थिए, उनीहरू पनि हामी बीच छैनन् । अर्थात जन्म मृत्युको चक्र हजारौं लाखौं बर्ष देखी चल्दै आएको छ ।

तर पनि मान्छेका प्राय सवै कार्यहरू मर्नै नपर्ने शैलीमा गरेको पाईन्छ । एकदिन  मर्नु पर्छ भन्ने जान्दा जान्दै पनि मान्छे कित्ता कित्तामा वित्ता वित्तामा लडाई झगडा गरिरहेको छ । आफ्नो र यो सारा जगतको अनिष्ट हुने कार्यमा आफुलाई अग्रपंतिमा उभ्याउने दौड प्रतियोगीतामा भाग लिईरहेको छ  ।

विज्ञानको आविस्कारलाई मान्छेले दुरूपयोग गर्यो र एटम बम बनायो । प्रथम र दोस्रो विश्व युद्धमा लाखौं मानिसहरू अनाहकमा मारिए । जापानको हिरोसिमा र नागासाकीमा खसालिएको एटम बम को असर आजको जापानी पुस्ताले पनि भोगीरहेको छ । आजपनि आणविक होडवाजी जारी छ ।

थाहा छ सबैले एकदिन मर्नुपर्छ । तर पनि मानिस हजारौं वर्षदेखि मृत्यु जित्ने भ्रममा दौडीरहेको छ । How much land does a man need?  अर्थात मानिसलाई कति जमिन भए पुग्ला ? विश्वप्रसिद्ध रुसी साहित्यकार लियो टोल्सटोयको एक प्रसिद्द कथाको शिर्षक हो यो । कथा को सारले यसो भन्छ – बास्किरस्थान राज्यमा पाहोम नामको किसान आफुले टेकेजति भुमिको मालिक हुने लोभले अनेक सपना बुन्दै दिनभरी बडो कष्टले जमिन ओगट्दै हिड्छ । सर्त बमोजिम साझंसम्म घाम नडुब्दै ऊ हिड्न सुरु गरेको बिन्दुमा आईपुग्नु पर्ने हुन्छ ।

तर दिनभरि जमिन ओगटेर हिड्दा ऊ यति थाकिसकेको हुन्छ कि साँझ प्रस्थानविन्दुमा आईपुग्दा दिनभरीको धपेडीले रगत बान्ता गरेर उसको त्यहीं मृत्यु हुन्छ ! मृत्युपश्चात उसलाई ६ फिटको खाल्डो खनेर त्यहि जमिनमा उसका सहयोगीहरुले समाधिष्त गर्छन । कथाको संदेश त्यही थियो -प्रत्येक मानिसकालागि चाहिने भनेको आखिर त्यहि ६ फिट जमिन हो ।तपाई हामी मध्य कतिले भोली को सुर्योदय देख्न पाउने हो कि होईन थाहा छैन ।तर पनि वैमन्स्यताको आंधीले हामीलाई यसरी लपेटेको छ त्यो ईन्द्रजाल बाट हामी उम्कनै सकेका छैनौं ।

वर्ष विते, युग विते मनुष्यहरू हजारौं वर्षदेखी त्यही दौडमा अभ्यस्त छन् । महाभारतमा कौरव र पाण्डवको लडाई संपत्ति / वैभवकै लागी थियो ।हस्तिनापुरमा कल्ले राज गर्ने भन्ने नै लडाईंको मूल कारण थियो। श्री कृष्णले मध्यस्थ कर्ताको हैसियतले लडाई टार्ने भरमग्दुर प्रयतन् गरेकै हुन्। हस्तिनापुर बाहेक पांच गाऊॅं माग्दा पनि दुर्योधनले एक ईन्च जमीन नपाउने उद्घोष गरे संगै महाभारतको भिषण लडाई भै छाड्यो ।

कथा पढ्दा र सुन्दा पाण्डवहरूले लडाई जिते भनिए पनि हार त दुवै पक्ष को भयो नि किनभने कौरवहरू धेरै मारिए र ति मारिनेहरू त आफन्त नै थिए ।महाभारतको त्यो लडाई कै कारण भगवान श्री कृष्णले गीता जन्माए अर्थात आफ्नो कर्तव्य र जीम्मेवारी बाट पछी हटी सकेका अर्जुनलाई जीवन र जगतको वास्तविक ऐना देखाए ।

ओशो भन्छन् – मान्छेले सुखलाई बांधेर राख्न चाहान्छ तर सुख सधै एकै ठाऊॅंमा रहन्न लाख कोशिस गरेपनि रहन्न । किनभने जन्मे पछी मरिन्छ यो जीवनको निरन्तरता हो ।” जीवन त नदी हो बग्न दिनुपर्छ । जव नदीको बहावलाई रोक्ने प्रयास गरिन्छ त्यसको धारले सवैलाई किनारा लगाई दिन्छ ।

प्रतिक्रिया