आइतबार, वैशाख ७, २०८२

पोखरामा प्याराग्लाइडिङको सोलो उडान खुलाउन व्यवसायीको माग

नेपालखोज २०८१ भदौ २५ गते २१:२७

कास्की । पोखराका पर्यटन व्यवसायीले दुई वर्षदेखि बन्द रहेको यहाँ सञ्चालित प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन माग गरेका छन् ।

प्याराग्लाइडिङको सोलो उडान बन्द हुँदा विभिन्न देशबाट आउने पर्यटक निरास भएकाले यसको असर पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । प्याराग्लाइडिङको सोलो उडान प्रतिबन्ध भए पनि व्यावसायिक उडान भने भइरहेको छ ।

नेपाल हवाई खेलकुद संस्था(ना)को २१औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले उडान बन्द हुँदा नेपाली प्राविधिक खेलाडीको सीप क्षमता विकासमा असर पुगेको बताए ।

पोखरामा विसं २०७९ असोज अन्तिममा नवौँ राष्ट्रिय खेलकुदको दौरान ग्लाइडर दुर्घटनामा एक जना खेलाडीको मृत्यु भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिश्चितकालका सोलो उडानमा प्रतिबन्ध लगाएको थियो ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराईले विभिन्न देशबाट सोलो उडानका पारखीहरु हरेक वर्ष पोखरा आउने गरे पनि अहिले आउन नपाएको बताए ।

उनका अनुसार नेपाली पाइलटले प्याराग्लाइडिङको अभ्यास गर्न पाएका छैनन् । अध्यक्ष भट्टराईले उडान खुला गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग निरन्तर माग गरे पनि पूरा नभएको बताए ।

प्रतिक्रिया