आकाश बाट पनि सर्न सक्छ रोग !

काठमाडाैं । बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अनुसन्धानकर्ताहरूबाट एउटा अचम्मको कुरा बाहिर आएको छ । उनीहरूले आकाशको १० हजार फिटको उचाइमा पनि रोग सर्ने कीटाणु हुने भएकाले उडानमा बसेका यात्रुलाई खतरनाक रोग लाग्ने सम्भावना रहेको बताएका छन् ।
जापानमा १० हजार फिटको उचाइमा सयौँ किसिमका ब्याक्टेरिया र फङ्गस भेटिएको अनुसन्धानले देखाएको छ । ती कीटाणुहरूले करिब २,००० किलोमिटरको दुरी पार गरे पनि तीमध्ये धेरै जीवित नै रहेको पाइयो । ती कीटाणु मध्ये धेरैले मानिसलाई बिरामी बनाउन सक्षम भएको बताइन्छ ।
यो अनुसन्धानको नेतृत्व गर्ने जेभियर रोडोको दिमागमा यो मुद्दामा अनुसन्धान गर्ने विचार कावासाकी नामक रोगबाट उत्पन्न भएको थियो, जसमा ज्वरो र दाद तथा कहिलेकाहीँ हृदयाघात जस्ता लक्षण समावेश हुन्छन्।
यो रोग कीटाणुबाट हुन्छ वा कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण हुन्छ वा दुवैको मिश्रणले हुन्छ भन्ने विवाद लामो समयदेखि चल्दै आएको थियो । उत्तर पूर्वी चीनबाट चलेको हावा जापान पुग्न थालेपछि धेरै मानिसमा कावासाकी रोग देखिएको थियो । जब त्यो हावा क्यालिफोर्निया पुग्यो त्यहाँ पनि कावासाकी रोगका बिरामीको सङ्ख्या बढ्न थाल्यो।
अङ्ग्रेजी अखबार इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले चीनको त्यो भागबाट हावा आइरहेको पत्ता लगाए जहाँ ठुलो मात्रामा पशुपालन हुन्छ र त्यहाँ खानीका खुला खाडलहरू पनि छन्।
जब रोडो र उनका सहकर्मीहरूले सूक्ष्म जीवहरूबाट डिएनए निकाले, तिनीहरूले उक्त नमुनामा कम्तीमा २६६ प्रकारका फंगाई तथा ३०५ प्रकारका ब्याक्टेरिया फेला पारे । हाल रोडो नयाँ प्रोजेक्ट मार्फत के पत्ता लगाउने प्रयासमा छन् भने वास्तवमा ती जीवाणुले मानव कोशिकालाई सङ्क्रमित गर्न सक्छन् कि यो केवल एउटा मान्यता मात्र हो।
प्रतिक्रिया