कीर्तिपुरमा विश्व पर्यटन दिवसबाट साप्ताहिक निशुल्क पदयात्रा

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा काठमाडौं उपत्यकाको सांस्कृतिक नगरी कीर्तिपुरमा साप्ताहिक निशुल्क पदयात्रा मिति २०८१ असोज ११ गते आयोजना हुनेभएको छ । कीर्तिपुर स्वयंसेवक समाजको आयोजना तथा स्थानीय संघ–संस्थाहरुसँगको सहकार्यमा यस सम्पदा पदयात्रा नियमित रुपमा हुने प्रबन्ध गरिएको छ । सहभागीहरूले कीर्तिपुरको समृद्ध सम्पदा मार्गबाट यसको ऐतिहासिक सम्पदाको मार्गदर्शन गर्दै पदयात्रा गर्न सक्नेछन् ।
बर्खाहिटी नयाँबजार, कीर्तिपुरबाट सुरुहुने पदयात्रा चिलञ्चो बिहार, ल्हो देग, देपुखु, बाघभैरब हुँदै पदयात्रीहरुले उमामहेश्वर मन्दिरसम्म करिब एक घण्टा पदयात्रा गरिनेछ । आगामी दिनहरुमा चोभार, पांगा, नगाँउ आदि स्थानहरुमा पनि पदयात्रा बिस्तार गरिनेछ । कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदी पदयात्राका लागि आवश्यक पर्ने म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य पनि यी यात्राहरुको क्रममा गरिने बताए । स्थानीय गाइडहरुलाई आवश्यक तालिमहरुको संयोजन गरिने कीर्तिपुर गाइड एसोसियसनका उपाध्यक्ष विविशा शाक्यले बताए ।
यो आन्तरिक तथा बाह्य पर्यटकलाई कीर्तिपुरको सम्पदा, इतिहास र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिका र स्थानीयसंस्थाहरुको सहकार्यमा अभियान कै रुपमा अघि बढ्नु सुखद भएको सम्पदा पदयात्राका सहभागीलाई स्वागत गर्न कीर्तिपुर आतुर रहेको कीर्तिपुर नगरपालिकाको कार्यवाहक प्रमुख तथा उपमेयर शुभलक्ष्मी शाक्यको भनाई छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कीर्तिपुरको स्थान पहाडी सहरको रुपमा रहेको छ जुन आफैमा पर्यटन ब्रान्ड हो भन्दै यसस्थानबाट देखिने मनमोहक दृश्यहरूले कीर्तिपुरको विशेष महत्व राख्दछ र यस किसिमको पदयात्राले कीर्तिपुरलाई पर्यटन मानचित्रमा स्थापित गराउने बताए ।
अघिल्लो वर्ष कीर्तिपुर स्वयंसेवक समाजको आयोजनामा स्थानीय गाइडहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले तालिम दिइएको थियो । तालिममा कीर्तिपुरको कथा कथनको कलाका विषयमा ३० जनाकीर्तिपुर गाइड संघका सदस्यहरू र अन्य सहभागीहरु रहेका थिए । युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न वि.सं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवाक्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ ।
प्रतिक्रिया