जितियाको कथा

यो एक पौराणिक लोक कथा हो ।
परापूर्व कालमा एक अविवाहित वृद्ध महिला पुरुषको सम्पर्क विना नै गर्भवती हुन्छे । समय बित्दै जाँदा उनले एक छोराको जन्म दिन्छ । छोरा बिस्तारै हुर्कँदै जान्छ । बुढी आमालाई गाउँलेले मस्वासी बुढिया र छोरालाई मस्वासी बुढियाको छोरा नै भनेर बोलाउने गर्दथे । बाबुको पत्तो नहुँदा छोरालाई बुढी आमाले भने बबुवा भनेर भन्दथ्यो । तीक्ष्ण बुद्धिको छोरा जे मा पनि निपुण थियो । साथीहरूसँग खेल्ने क्रममा एक दिन साथीहरूले बिना बाबुको छोरा भनेर पछि रुँदै आमासँग मेरो बाबु को हो भनेर सोध्छ । आमाले बाध्य भएर आफूले भोगेको कुरा छोरालाई यस किसिमको कथा सुनाए ।
गरिब एक्लै बसिरहेकी ती महिलालाई राजपरिवारको कुनै उत्सवको लागी रक्सी बनाउन धान ल्याइदिएको हुन्छ । बर्सातको मौसम भएको हुँदा घाममा धान सुकाउन नपाउँदा ती बुढीले भगवानलाई पुकार्दै जप र भाकल गरिन । धान सुकाउने व्यवस्था गरिदिए भगवानले चाहेको कुरा दिने बचन दिइन । भगवानले उनको इच्छा अनुसार धान सुकाए दिए । समयसँगै उनले भगवान सामु गरेको आफ्नो भाकल बिर्सिए । यसरी भाकल बिर्सिएकाले भगवानले रिसाएर एक दिन उनको करेसाबारीमा आएर श्राप दिँदै पिसाब गरिदिए । भगवानले पिसाब गरेको ठाउँमा हरियो साग उब्जियो । बुढीयाले गरिबिको कारण साग पकाएर खाए । साग खाएको दिन देखी उनी गर्भवती भएको र बबुवा जन्मेको वृत्तान्त सबै सुनाए । देवताको कारणले जन्मिएको हुँदा तिम्रो बुबा देवता हुन् भनेर सम्झाए ।
यसरी बाबु देवता भएको थाहा पाए पछि बुबालाई खोजेर आफ्नो न्वारान गर्ने जिद गर्दै छोरा परदेश लागे । बुबा खोज्ने क्रममा धेरै दीन दुखी भेटे ।
सबैलाई भगवानसंग भेटे पछि दुख कष्ट हटाउन मद्दत गर्ने बचन दिँदै अगाडी बढे । अन्ततः लामो कष्टपूर्ण यात्रा पछि आकाश मार्गमा पुगे । जुन बाटो भएर भगवानहरु आउने जाने गर्दछन् भन्ने थाहा पाएपछि बाटो कुरेर बसे । बाटोमा भेटेका सबैलाई भगवान को हो भनेर सोध्थे । आखिर एक दिन उनले भगवान चढेर आएको रथ रोकेर सोधे भगवान कहाँ छ ? भगवान आश्चर्य मान्दै उनलाई सोधे तिमी को हौ ? उनले आफ्नो आमाले भनेको सम्पूर्ण कथा भगवानलाई सुनाए । भगवानले उनलाई काखमा लिएर आफ्नो उद्देश्य के हो भनेर सोधे । आफ्नो न्वारन गर्न मैले बाबु खोज्दै हिँडेको भनेपछि भगवानरुपी बाबुले उनको नाम जितबाहन राखिदिए ।
भगवानले यसको साथै उनलाई भने जसले पनि तिम्रो नामको व्रत बस्नेछ उसले सम्पूर्ण दुख कष्टबाट मुक्ति पाउनेछ । यसरी भगवानबाट नामकरण र दुखबाट मुक्तिको उपाय थाहा पाए पछि आफूले जो जसलाई दुखको मुक्तिको उपाय भगवानबाट लिएर आउने बचन दिएका थिए तिनीहरूलाई आफ्नो नाममा व्रत बस्न सुझाए ।
यसरी आज पनि जितिया पर्वको रूपमा जितवाहनको व्रत बस्ने गर्दछन् । पूर्वी तराइमा विवाहित महिलाहरू मात्र व्रत बस्दछन् भने चितवन वरपर भने विवाहित अविवाहित सबैले व्रत बस्ने गर्दछन् । कतै कतै भने महिलाहरूको साथ पुरुषहरू पनि व्रत बस्ने गर्दछन् ।
जितिया पर्वको पहिलो दिन नदी अथवा तलाउमा गएर नुहाई धुवाइ गरेर घिराैलाको पातमा पिना र माटो चढाएर पूजा गर्दछन् । पूजाको समाप्ति पछि मात्र खाने गर्दछन् । जसलाई लहाइ भन्ने गरिन्छ । दोस्रो दिन व्रत बस्दछन् । यस दिन महिलाहरू जम्मा भएर जितवाहनको कथा सुन्ने तथा झम्टा नृत्य गरेर रमाइलो गर्दछन् । पहिले पहिले बाटो बाटोमा नाच्दै बाटोमा गुडेका साधनहरू रोक्दै पैसा पनि उठाउने गर्दथे । अचेल भने खासै यस्तो गरेको पाइँदैन ।
तेस्रो दिन अर्थात् समापनको दिन जसलाई पारन भन्ने गरिन्छ । यस दिन नदी तलाउमा नुहाई धुवाइ गरेर घर फर्केपछि चौका लगाएर दही सक्खरको प्रसाद राखेर पूजा गर्दछन् । यसरी तीन दिन लामो जितिया पर्वको समापन हुन्छ ।
प्रतिक्रिया