डा. कोर्निल जेष्टका नेपाली तस्बिर !

फ्रान्सेली मानवशास्त्री डा. कोर्निल जेष्टले बि.सं. २०१७ साल देखि २०३२ साल सम्म खिचेका ९६ तस्बिरहरूको प्रदर्शनी पाटन दरबार संग्रहालयनमा हिजोबाट सुरु भयो । यो प्रदर्शनी कार्तिक २ गते सम्म रहनेछ । डा. कोर्निल जेष्ट बि.सं. २०१७ सालमा नेपाल आउनुभएको थियो । डोल्पाको जीवन बारेमा अध्ययन गर्न फ्रान्सबाट आउनुभएपछि एघार महिना डोल्पामा रहनु भएर गहिरो अध्ययन गर्नुभएको थियो । त्यसपछि पनि वहाँ धेरै पटक डोल्पा पुग्नुभयो ।
उहाँले करिब ५७ वर्ष अगाडि बि.सं. २०२४ सालमा द्यो तरापको घोडाको विषयमा बनाउनु भएको डकुमेन्ट्री निकै चर्चित रहेको थियो । वहाँले बनाउनु भएको पाँच वटा डकुमेन्ट्री नै मैले सङ्ग्रहमा राखेको छु । जस मध्य एक बि.सं. २०२७ सालको सेतो मच्छिन्द्रनाथको जात्राको रहेको छ । वहाँ नेपालमा रहँदा यात्राको साथीका रूपमा रहेका सार्कीमान माझीले वहाँलाई १० वर्ष भन्दा बढी साथ दिएका थिए । बि.सं. २००० सालमा तिमाल गाउँमा जन्मेका सार्कीमान युवा उमेर पुग्नासाथ नै जेष्टका सहयोगी बन्न पुगेका थिए ।
पश्चिम डोल्पा देखि पूर्वमा सुनकोसीसम्म जेष्टको साथ यात्रा गरे । सार्कीमान माझी भए पनि कुशवार माझी थिए । नेपालमा कुशवार माझीको जनसङ्ख्या पनि मनग्गे नै छ । कुशवारहरुको पनि आफ्नै कथा छ । यो कथालाई कुशवारहरु गर्वले सुनाउने गर्दछन् । आफूहरूलाई रामको छोरा कुशका सन्तान मान्ने गर्दछन् । किंवदन्ती अनुसार एक दिन सीता एक्लै नदी किनारमा कपडा धोएर बसेकी थिइन् । सीताको एक मात्र छोरा लव थियो । त्यहिबेला एउटा बाँदर आफ्नो सानो बच्चा बोकेर माया गर्दै खेलाउँदै दूध खुवाउँदै गरेको देखिन ।
उनले तत्कालै आफ्नो छोरालाई अरूको सहारामा छोडेर आएको सम्झेर आफ्नो छाप्रोमा पुगी कोक्रोमा सुतिरहेको लवलाई बोकेर फेरी नदी किनारमा गएर खेलाउन थालिन् । यता लवको हेरचाह गर्दै गरेकी वृद्ध तथा वृद्धाले कोक्रोमा सुताएर छोडेको लवलाई नदेखे पछि खोज्न थाले । कतै पनि लवलाई नभेटेपछि कुशको बालक बनाएर बालकमा जीवन दिन भगवान संग प्रार्थना गर्न थाले । केही बेरमा भगवानले कुशबाट बनेको बालकलाई पनि जीवन दिए । सीतालाई सुम्पिनका लागि कुशको बच्चा लिएर जान लाग्दा सीताले लवलाई बोकेर आएको देखेपछि के गर्ने कसो गर्ने सुर्ता गर्न लागे । सीताले वृद्ध र वृद्धालाई कसरी लव जस्तै जुम्ल्याहा बच्चा आयो भनेर सोधे ।
त्यसपछि ती वृद्धाले लव हराएको ठानेर घाँसको कुशले बालक बनाएर भगवानसंग जीवन दिन मागेको र भगवानले कुशको बालकलाई जीवन दिएको बताए । सीताले यो सबै सुनेपछि कुशको बालकलाई कुश नै नाम दिएर लवका साथ नै हुर्काउने बचन दिए । यसपछि लव र कुश सँगसँगै हुर्किए ।
ठुलो हुँदै गए पछि लव राजकालमा लागे तर कुश वनमा नै हुर्किए। यिनै वनमा हुर्किएका र कुशबाट बनाइएका कुशका सन्तान नै आजका कुशवार हुन भन्ने विश्वास गर्दछन् । कुशवार अर्थात् माझीहरू पेसाले माछा मार्ने तथा खोला किनारमा साना साना डुङ्गा चलाएर जीविका चलाउने गर्दथे । खोलाहरूमा पुल बन्न थालेपछि अचेल भने कुशवारहरुको पेसामा परिवर्तन भइसकेको छ । शिक्षित हुँदै गए पछि विभिन्न पेसामा आबद्ध हुन थालिसकेका छन् ।
यिनै कुशवारका सन्तान सार्कीमान माझीको साथ रहने थालेपछि जेष्टले कुशवारहरुका बारेमा पनि अध्ययन गरेका थिए । कुशवारहरुको जीवनशैली तथा बसोबासका विषयमा प्रतिवेदन नै तैयार गरेका छन् । डा. कोर्निल जेष्टको ६ वर्ष अगाडि २०७५ सालको माघ ९ गते ८८ वर्षको उमेरमा पेरिसमा निधन भएको थियो । वहाँको सम्झनामा पाटन दरबार सङ्ग्रहालयले तस्बिरहरूको प्रदर्शन गरेर वहाँ प्रति सम्मान प्रकट गरेको छ । तस्बिरमा सार्कीमान माझीका साथ कोर्निल जेष्ट ।
प्रतिक्रिया