बुधबार, वैशाख १०, २०८२

अवैध लागूऔषध सहित चार जना पक्राउ

नेपालखोज २०८१ असोज १३ गते १४:०५

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय नबिन चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथ्थरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय पप्पु रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । 

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ८ सय ८० मिलिग्राम सहित भारत बिहार अररिया नरपथगन्ज गोखलापुरथान–७ बस्ने २५ वर्षीय मिथलेश साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडी गौडा बस्ने ३७ वर्षीया मागी धामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५८ ग्राम २ सय मिलिग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

धनगढी उपमहानगरपालिका–७ भानु चोक बस्ने बिष्णु चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय राम सिंह चौधरी समेत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ७ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका–१ बिजयनगर बस्ने केशव सिंह गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ बस्ने ६६ वर्षीय केशर सिंह गुरूङ समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ३ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–५ बैकुण्ठनगरस्थित सडकमा ना.१ ज ३५५१ नम्बरको म्याजिक गाडीको ठक्करबाट  पैदलयात्री सोही नगरपालिका–५ बस्ने ७४ वर्षीया कौशिला पौडेलको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ खाडो खोलास्थित सडकमा बेल्हीबाट राजबिराजतर्फ जाँदै गरेको को.२ ह ५१५३ नम्बरको ई–रिक्सा अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ई–रिक्सामा सवार तिलाठी कोईलाडी गाउँपालिका–२ लौनिया बस्ने ५२ वर्षीया छुतहरनिया देवी खङ्गको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राजबिराज गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु

बराहक्षेत्र नगरपालिका–४ जमटोकी बस्ने ५५ वर्षीय भिखन चौधरीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बनेपा नगरपालिका–८ स्थित रबिन्द्र बैदारको अनिल सुनिल समिल काठ गोदाममा विद्युत सर्ट भई गए राति आगलागी हुँदा मिलमा रहेको काठ, २ वटा टहरो, भाँडाकुडा लगायतका सरसामान जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया