विश्वका शीर्ष पाँच अर्बपतिको सम्पत्ति दोब्बर भयो !

काठमाडाैं । बेलायती गैरसरकारी संस्था अक्सफामले आफ्नो पछिल्लो प्रतिवेदनमा सन् २०२० यता अर्बपतिको सम्पत्ति थप बढेको र ६० प्रतिशत जनसंख्याको आम्दानी घटेको जनाएको छ । अक्सफामले सरकारहरूलाई “अरबपति वर्ग” माथि लगाम लगाउन अपील समेत गरेको छ ।
डाभोसमा विश्व आर्थिक मञ्चमा सहभागी हुन विश्वभरका नेताहरू भेला भैरहेका बेला यो प्रतिवेदन प्रकाशित भएको हो । प्रतिवेदन अनुसार विश्वका शीर्ष पाँच धनी व्यक्ति एलोन मस्क, बर्नार्ड अर्नाल्ट, जेफ बेजोस, ल्यारी एलिसन र मार्क जुकरबर्गको संयुक्त सम्पत्ति सन् २०२० पछि ११४ प्रतिशत वा ४६४ अर्ब डलरबाट बढेर ८६९ अर्ब डलर पुगेको छ ।
सन् २०२० यता पाँच अर्ब मानिसको आम्दानी भने घटेको र गरिबको संख्या अझ बढेको अक्सफामले जनाएको छ । अक्सफामले भनेको छ यसबाट धनी र गरिबबीचको खाडल अझ बढेको छ । अक्सफामका अनुसार यी अर्बपतिहरु या त ठूला कम्पनीहरू चलाउँछन् वा संसारका दस ठूला कम्पनीहरू मध्ये सातमा प्रमुख शेयरधारक छन् ।
एक अनुमानअनुसार गत वर्ष संसारका शीर्ष १४८ कम्पनीले १.८ ट्रिलियन डलर नाफा कमाए जुन तीन वर्षको औसत भन्दा ५२ प्रतिशत बढी हो। यसले शेयरधारकहरूलाई ठूलो प्रतिफल प्रदान गर्यो, जबकि मुद्रास्फीतिका कारण ज्याला कटौती हुँदा लाखौं कामदारले जीवन निर्वाह कै संकटको सामना गर्नुपर्यो ।
अक्सफाम इन्टरनेशनलका अन्तरिम कार्यकारी निर्देशक अमिताभ बेहरका अनुसार, “यो असमानता कुनै संयोग होइन । अर्बपति वर्गले के सुनिश्चित गरिरहेको छ भने वर्तमान प्रणालीले उनीहरूलाई कुनै पनि मूल्यमा फाइदा पुर्याओस ।”
उनले भने, “अरबौं जनता महामारी, आर्थिक संकट, मुद्रास्फीति र युद्धको चपेटामा छन्। योसँगै अर्बपतिहरुको सम्पत्ति पनि बढिरहेको छ।”
यस्तो असन्तुलनलाई सम्बोधन गर्न अक्सफ्यामले सरकारहरूलाई एकाधिकार तोडेर, अधिक नाफा र सम्पत्तिमा कर लगाएर तथा शेयरमा नियन्त्रणको वैकल्पिक विधिहरू अपनाएर कर्पोरेट शक्ति सीमित गर्न आग्रह समेत गरेको छ ।
अक्सफाम भन्छ – “धनीहरूले कर्पोरेट शक्तिको दुरुपयोग गरेर, श्रमिकहरूलाई दबाएर, सेयरधनीहरूको सम्पत्ति बढाएर, कर छुटको फाइदा उठाएर र राज्यको स्वामित्वमा रहेका कम्पनीहरूलाई निजीकरण गरेर आफ्नो सम्पत्ति बढाउँदैछन्।”
अक्सफामका अनुसार “विश्वभरका निजी क्षेत्रले कम कर दर , कम पारदर्शिता र अन्य उपायहरूका लागि जोड दिएका छन् ताकि उनिहरुका कम्पनीहरूले सार्वजनिक कोषमा कम योगदान दिनुपरोस ।” यसबाट सरकारी कोषमा नोक्सानी भैरहेको छ भने अक्सफामले यो रकम गरिबहरुको हितमा खर्च गर्न सकिने बताएको छ ।
स्रोत : एएफपी , रोयटर्स
प्रतिक्रिया