सोमबार, वैशाख ८, २०८२

नवरात्रिको पहिलो दिन : देवी शैलपुत्रीको पूजा गरिँदै

नेपालखोज २०८१ असोज १७ गते ६:३२

सैंको पहिलो दिन अर्थात् नवरात्रिको पहिलो दिन आज नवदुर्गामध्ये शैलपुत्रीको पूजा एवं आराधना गरी घटस्थापना गरेर जमरा राखिँदै छ । घट भनेको माटोको चोखो भाँडा हो भन्ने बुझिन्छ । त्यस घटलाई शास्त्रीय विधिअनुसार स्थापना गर्नुलाई घटस्थापना भनिएको बताइन्छ । आज घटस्थापनाको दिन जमरा राखिन्छ । चोखो स्थानबाट ल्याइएको बालुवा वा माटोमाथि जौ, गहुँ, धानलगायतलाई राखिन्छ । ९ दिनसम्ममा ति बिजहरू उम्रिन्छन् । त्यसैलाई बिजयादशमीमा टीका लगाउँदा प्रयोग गरिन्छ । गोबर लेपन गरिएको उक्त घडामा जौ राखेर घरको पूजाकोठा या दसैंका लागि जमरा राख्न तयार गरिएको ठाउँमा राखिन्छ । नवदुर्गाका लागि ९ भाग जमरा राखिन्छ ।

नवदुर्गा भवानीको पहिलो स्वरूप शैलपुत्री
दाहिने हातमा त्रिशूल बोकेकी, देव्रे हातमा कमल तथा निधारमा अर्धचन्द्राकार चन्द्र भएकी तेजश्वी देवीलाई शैलपुत्री भनेर सम्झनु पर्दछ । उनलाई सती, पार्वती, वृषारूढ़ा, हेमवती, भवानी भनेर पनि पुकार्ने गरिन्छ । हिमालयका राजा शैलराजको घरमा पैदा भएको कारणले नवदुर्गाको पहिलो अवतारलाई शैलपुत्री भनिएको हो । शैलपुत्री अर्थ पहाड (शिला)की छोरी भन्ने हुन्छ । नवदुर्गा भवानीको पहिलो स्वरूप शैलपुत्रीको आराधना गर्नाले धन, धान्य, सौभाग्य, आरोग्य, मोक्ष तथा सबै प्रकारको मनोकामना पूर्ण हुने मानिन्छ । शैलपुत्रीलाई श्रद्धाभक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छ । शैलपुत्रीलाई सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा मानिन्छ ।

प्रतिक्रिया