शनिबार, वैशाख ६, २०८२

सगरमाथामा २ शव, १ क्यामेरा अनि शताब्दी पुरानो रहस्य ?

नेपालखोज २०८१ असोज २७ गते ९:२८

सगरमाथाको पहिलो आरोहण कसले गरेको थियो ? हिलारी र तेन्जिङ सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति थिएनन् ? नेशनल जियोग्राफिकको टोलीले सगरमाथामा शताब्दी पुरानो रहस्यको समाधान गर्न सक्ने कुरा पत्ता लगाएको दाबी गरेको छ ।

यो ठीक एक शताब्दी अघिको कुरा हो । वर्ष १९२४ को जुन महिना । विश्वको सर्वोच्च शिखर ‘माउन्ट एभरेष्ट’ मा पहिलो पटक पाइला राख्ने बेलायती महत्वाकांक्षाको बोझ बोकेर एउटा आरोहण टोली अभियानमा थियो । टोलीले समुन्द्र सतहबाट २९ हजार ३२ फिट उचाइ रहेको माउन्ट एभरेष्ट आरोहण गर्नु थियो ।

यसअघिका दुईवटा असफल अभियानपछि आरोहीहरूको यो तेस्रो समूह थियो । नौ जनाको उक्त टोलीमा जर्ज म्यालोरी (टीम लिडर), एडवर्ड नोर्टन, नोएल ओडेल, जोन म्याकडोनाल्ड, एडवर्ड ओ । शेबेअर, जेफरी ब्रूस, टी । हावर्ड समरवेल, बेन्टले बीथम र एड्यु ‘स्यान्डि’ इरविन सहभागी थिए

८ जुन १९२४ को त्यो दिउँसो के भयो ?

सगरमाथाको शिखर जाने बाटोमा एउटा साँघुरो उपत्यका, ग्रेट ९नोर्टन० कुलुआ छ। यो सगरमाथाको उत्तरी भाग तिर छ । ८ जुन १९२४ को दिउँसो अचानक मौसम सफा हुँदा अभियान टोलीका दुई सदस्य म्यालोरी र इरविनले यसलाई पार गरेका थिए ।

बादल छाँटियो र पहाडको टुप्पो स्पष्ट देखिन थाल्यो । त्यहाँ ‘थ्री स्टेप’ को पहिलो पाइला पनि देखिन्थ्यो । यो ठाउँ लगभग २८,०९७ फिटको उचाइमा छ। त्यसपछि केही मिनेटमै मौसम अचानक बदलियो र बाक्लो बादल फर्कियो ।

टोलीका सदस्य नोएल ओडेल हाल म्यालोरी र इरविनभन्दा १,००० फिट तल थिए । उनी घुमाउरो बाटो हुँदै क्याम्प ६ हुँदै माथि चढ्न खोजिरहेका थिए । त्यहाँ एउटा ठाडो चट्टान थियो, जुन ओडेलले चढे र अचानक मौसम फेरि सफा भएको देखे ।

अब ओडेलले चुचुरोमा पुग्ने सम्पूर्ण मार्ग देख्न सक्थे। उनले पहिलो र दोस्रो चरण दुवै देख्न सकेका थिए । त्यसपछि ओडेलले जे देखे त्यो उनको आफ्नो बाँकी जीवनका लागि अविस्मरणीय क्षण मात्र होइन, सगरमाथाको इतिहासको सबैभन्दा ठूलो रहस्य पनि बन्न गइरहेको थियो । त्यो क्षणका बिषयमा अनगिन्ती पुस्तकहरू लेखिन र असंख्य बहसहरू हुन गइरहेका थिए ।

ओडेलले के देखे ?

ओडेलले सन् १९८७ फेब्रुअरीमा ९६ वर्षको उमेरमा यो संसार छोडेका थिए । ८ जुन १९२४ को दिउँसो आफ्नो दिमागमा कोरेको त्यही तस्विरलाई जीवनभर उनले दोहोर्याइरहे जुन उनले २८,२५० फिटको उचाइमा रहेको ‘सेकेन्ड स्टेप’ को टुप्पोमा दुईवटा हिडिरहेको आकृति देखेका थिए ।

ओडेलले दुईजना पर्वतारोहीलाई त्यो उचाइमा अघि बढेको देखेको कुरामा कुनै शंका थिएन१ ओडेलको भनाइमा, उनीहरू दुवै छिटो हिँडिरहेका थिए ।

यदि त्यसो हो भने ती दुई पर्वतारोही म्यालोरी र इरविन बाहेक अरू कोही हुन सक्दैनन्। उनीहरु दुई मात्रै बाँकी टोलीभन्दा अगाडि थिए । ओडेलले त्यो झलक देखेको करिब पाँच मिनेटपछि बादल फर्कियो, त्यसपछि ओडेलले त्यस दिनको तेस्रो पहरको अन्त्य अघि सगरमाथा देखेनन् ।

जब केही उज्यालो भयो, त्यहाँ मेलरी र इरविनको कुनै चिन्ह थिएन१ मेलोरी र इरविन फेरि कहिल्यै देखिएनन् । उनी सगरमाथा यात्रीहरूको त्यो क्लबको हिस्सा बने जसको जीवन यो पर्वतमा नै समाप्त भयो ।

एउटा क्यामेरा जसमा सारा रहस्य कैद छ !

मेलोरी र इरविनको मृत्यु भयो, तर कहिले र कुन बिन्दुमारु के उनीहरुले सगरमाथाको चुचुरो चूमे रु यदि ओडेलले उनीहरुलाई सेकेन्ड स्टेपमा देखेका हुन भने, उनिहरु चुचुरो भन्दा टाढा थिएनन् ।

एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले २९ मे १९५३ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभन्दा तीन दशकअघि मेलोरी र इरविन, वा मेलरी एक्लै वा इरविन एक्लैले सगरमाथाको शिखरमा पाइला राखेका थिए ?

के ती दुवै वा तिनीहरूमध्ये एक, तल ओर्लने क्रममा बाटोमा लडेर मरे रु तर उनिहरुको जुत्ता आधुनिक पर्वतारोहीको जस्तो थिएन, त्यसोभए के उनीहरु ती जुत्ता मै हिमालयको त्यो कठिन उचाइ चढ्न सक्षम भए ?

यी सबै कुरामा अब धेरै थोरै रहस्य मात्र बाँकी छ । यो कुरामा विगत एक शताब्दीदेखि पर्वतारोहण समुदायमा सबैभन्दा चर्को बहस हुँदै आएको छ । त्यसोभए के यो रहस्य सुल्झाउने कुनै उपाय छैनरु अनुसन्धानकर्ताहरूले आफ्ना सबै आशाहरू एउटै क्यामेरामा फोकस गरिरहेका छन् र त्यो क्यामेरा हो ( कोडाक वेस्ट पकेट क्यामेरा ।

यो क्यामेरा सगरमाथा अभियान टोलीका सदस्य सोमरवेलले मिसनका क्रममा म्यालोरीलाई दिएका थिए । यदि उनी शिखरमा पुगेका थिए भने उनले पक्कै आफ्नो क्यामेराले फोटो खिचेका थिए र त्यो क्यामेरा आफ्नो ज्याकेटको खल्तीमा राखेका थिए ।

उनको त्यो फिल्म, जुन कहिल्यै फेला पर्न सकेन तर त्यो रिल अझै पनि कतै हुन सक्छ। कोडाक कम्पनीले दशकौंदेखि बरफमा जमेको भए पनि त्यो रिलबाट तस्बिर प्राप्त गर्ने प्रयास गर्ने बताएको थियो। सायद यसमा सफलता पनि मिल्न सक्छ ।

शव भेटियो, क्यामेरा फेला परेन

म्यालोरी र इरविनको शव र त्यो कोडाक क्यामेराको खोजीमा मानिसहरू दशकौंदेखि लागेका छन । सन् १९३३ मा सगरमाथामा पुग्ने अभियान टोलीले एउटा सानो सफलता पाएको थियो । उनीहरूले इरविनको एउटा बरफ फोडने हतियार फेला पारेका थिए ।

त्यसपछि लामो समय यत्तिकै बित्यो । दशकौंको कडा परिश्रम पछि १९९९ मा एक अभियानले लगभग २७ हजार फिटको उचाइमा मेलरीको शव फेला पार्यो ।

त्यो शव भुइँमा घोप्टिएको अवस्थामा फेला परेको थियो । एउटा खुट्टा र सम्भवतः एउटा हात पनि भाँचिएको थियो, जसको अर्थ उनको मृत्यु लडेर भएको थियो। यद्यपि हिउँले मेलरीको शरीरलाई राम्रोसँग जोगाएको थियो । खल्तीमा भएको उनको चिठी पनि सुरक्षित थियो ।

त्यहाँ धेरै चीजहरू फेला परे, केवल कोडक क्यामेरा फेला परेन। त्यसपछि के अनुमान लगाइयो भने क्यामेरा इरविनसँग हुन सक्छ। इरविनको शव खोज्न धेरै मानिसहरू सगरमाथा पुगे। धेरै विशेष अभियानहरू सञ्चालन गरियो । एक शताब्दी बितिसक्दा पनि यो रहस्यको एउटा महत्वपूर्ण पक्ष सुल्झिन सकिरहेको थिएन ।

अन्तत: ठीक एक शताब्दी पछि, इरविनको अवशेषहरू फेला परेका छन् । नेशनल ज्योग्राफिकले रिपोर्ट गरेको छ । उनीहरूको एक टोलीले उत्तरी मोहडाको मुनि एउटा शवको अवशेष फेला पारेको छ र उनीहरू विश्वस्त छन् त्यो इरविनको शव हो ।

हिउँको आधा पग्लिएको तहबाट बाहिर निस्किएको जुत्ता र त्यसमा भएको खुट्टाको अवशेषमा फिट गरिएको मोजा पनि फेला परेको छ जसमा कढाई गरेर लेखिएको छ । एसी. इरविन ।

नेसनल जियोग्राफिकको टोलीले यहि सेप्टेम्बरमा यो खोज गरेको हो । नेशनल ज्योग्राफिकले रिपोर्ट गरेको छ कि टोलीका सदस्य जिमी चिनले यो खोजको वर्णन गर्दै भनेका छन् ‘मैले मोजा उठाएँ र यसमा सिलाई भएको रातो स्टिकर थियो A.C. Irwin!’

यो ऐतिहासिक खोजले सन् १९२४ को जुनमा सगरमाथामा त्यस दिन के भयो भनेर जान्न मद्दत गर्ने टोलीको आशा छ । यद्यपि अहिले पनि यो रहस्यको एउटा महत्त्वपूर्ण भाग गायब छ ( कोडक क्यामेरा । तर, क्यामेरा पनि नजिकै कतै हुनेमा अनुसन्धान टोली ढुक्क छ ।

यति धेरै वर्षसम्म अन्वेषण गर्न यति विशाल क्षेत्र, कम्तिमा अब खोजको दायरा धेरै सानो भएको छ। चिन र उनको टोलीले इरविनको अवशेष फेला पारेको स्थानको खुलासा गरेका छैनन् । त्यहाँ थप अनुसन्धानकर्ताहरुको बाढी आउने डरले ।
आखिर, यति ठूलो रहस्य सुल्झाउने प्रलोभनले जोसुकै लाइ लोभ्याउँछ !

प्रतिक्रिया