बढ्यो बालबालिकामा डिप्रेसन र एन्जाइटी

काठमाडाैं । विश्वका प्रत्येक सातौं बालबालिका डिप्रेसन र एन्जाइटी जस्ता मानसिक समस्याबाट ग्रसित छन् ।
आजको भागदौडको संसारमा, मानसिक समस्याले द्रुत रूपमा मानिसलाई आफ्नो शिकार बनाउँदैछ । अचम्मको कुरा के छ भने केटाकेटी र किशोरकिशोरीमा पनि बेचैनी, डिप्रेसन र मानसिक तनाव जस्ता समस्या गम्भीर बन्दै गएका छन् ।
यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो नयाँ प्रतिवेदनमा विश्वमा १० देखि १९ वर्ष उमेर समूहका सातौं बालबालिका मानसिक समस्याबाट ग्रस्त रहेको खुलासा गरेका छन् ।
यस्तो अवस्थामा बालबालिकाको मानसिक स्वास्थ्य सुधार गर्न समुदायलाई ध्यानमा राखेर नमुना तयार गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ ।
एक अनुमान अनुसार, मानसिक स्वास्थ्य समस्या मध्ये एक तिहाई १४ वर्ष को उमेर भन्दा पहिले सुरु हुन्छ जबकि आधा १८ बर्षको उमेर भन्दा पहिले सुरु हुन्छ। मानसिक स्वास्थ्य सम्बन्धी समस्याका लक्षणहरू धेरै हदसम्म किशोरावस्थाममै देखिन थाल्छन्। विश्व मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा ‘बालबालिका र युवाहरुको मानसिक स्वास्थ्य’ शीर्षकको यो प्रतिवेदन सार्वजनिक गरिएको हो ।
यसको उद्देश्य बालबालिकाका लागि विद्यमान मानसिक सेवामा सुधार ल्याउनु हो। प्रतिवेदनले के पनि उल्लेख गरेको छ भने बालबालिका र युवाहरूलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न सक्षम बनाउन प्रारम्भिक कदम चाल्नु महत्त्वपूर्ण छ। मानसिक स्वास्थ्य चुनौतिहरूको सामना गर्न तत्काल सहयोगको आवश्यकता भएता पनि ठूलो जनसंख्या अझै पनि यी सेवाहरूमा पहुँचविहीन छ।
आज पनि, मानसिक समस्याबाट ग्रसित अधिकांश युवाले स्वास्थ्य सेवामा सीमित पहुँच भएका कारण पर्याप्त सहयोग पाइरहेका छैनन्। यसका लागि सीमित उपलब्धता, महँगो सेवा र मद्दत खोज्दा आलोचनाको डर जस्ता कारकहरू जिम्मेवार छन्।
यति मात्र होइन मानसिक स्वास्थ्य सेवाका लागि सार्वजनिक कोष र कर्मचारीको अभाव पनि ठूलो समस्या हो । यसबाहेक, यस्तो सहयोग विशेष गरी बालबालिका र किशोरकिशोरीहरूका लागि छैन भने पनि हुन्छ । खासगरी न्यून र मध्यम आय भएका
नेपाल जस्ता देशहरूमा अवस्था निकै खराब भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया