भेडेटारको कोसेली हरियो सागसब्जी

धरान (सुनसरी) । धनकुटाको भेडेटारका प्रत्येक पसलहरुमा हरियो सागसब्जी र फलफूलहरु बिक्रीका लागि राखिएका छन् । जहाँ धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अग्र्यानिक’ उत्पादन पाइन्छ ।
अहिले दसैँ मनाउन आउने र फर्कनेको भीड छ । यहाँ आइपुग्ने यात्रुहरुले कोसेलीका रूपमा भेडेटारको हरियो सागसब्जी किन्ने गरेका छन् । ग्राहकको भीड नै लागेपछि व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ छ ।
धनकुटाका मनिसा कुँवर भेडेटारमा सागसब्जी किन्दै गर्दा भेटिए । उनी धनकुटाबाट इटहरी टीका लगाउन जाँदै गरेको रहेछ । उनको हातभरि हरियो साग, सिमी र किबी थियो । ‘इटहरी माइत टीका लगाउन हिँडेको ताजा सब्जी, फलफूल देखेपछि किन्न मन लाग्यो । पहाडी भेगको अग्र्यानिक सागसब्जी मधेसमा लाँदा त चीज हुन्छ, दसैँको बेला त कोसेली पो हुन्छ’, मुसुक्क हाँस्दै उनले भने ।
दसैँतिहारमा मात्र भेडेटारमा हरियो र अग्र्यानिक सागसब्जी बिक्री हुने भने हैन । पहाडी भेगबाट सिजनअनुसार सागसब्जी र फलफूल बिक्रीका लागि यहाँ आइरहने व्यापारी कोपिला राई बताए । ठाउँबाट हरियो सागसब्जी, अकबरे खोर्सानी, किबी टमाटर र आलु ल्याइने गरिन्छ । पहाडी भेगमा उत्पादित सासब्जी स्वादिष्ट हुने भएकाले महँगो भए पनि खरिद गरेर लैजाने गरेका स्थानीय सुरज राई बताए ।
प्रतिक्रिया