बुधबार, वैशाख १०, २०८२

साफको टिकट मोबाइल एपबाट पनि किन्न सकिने

नेपालखोज २०८१ कार्तिक १ गते ८:४५

काठमाडौं । दशरथ रंगशालामा बिहीवार सुरु हुने साफ महिला च्याम्पियनसिपको टिकट मोबाइल एपबाट पनि खरिद गर्न सकिने भएको छ ।

दक्षिण एसियाली महिला फुटबलको यस प्रतिष्ठित प्रतियोगिताको सातौं संस्करण कात्तिक १ गतेदेखि दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताको लागि टिकट विक्री गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्ट प्रा. ली.ले सम्झौता पनि गरिसकेको छ ।

माउन्ट एभरेष्टले प्रतियोगिता सुरु हुने अघिल्लो दिन डिजिटल वालेट खल्ती एपबाट टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । खल्ती र माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्ट र खल्तीबीच सम्झौता भइसकेको छ । सम्झौता पत्रमा माउन्ट एभरेष्ट स्पोर्ट एण्ड इभेन्ट प्रा.लि. का प्रमूख कार्यकारी अधिकृत (सिइओ) थमन भुषाल र खल्ती प्रा. ली. का सिइओ विनय खड्काले बुधबार हस्ताक्षर गरेका छन् ।

दर्शकहरुले जुनसुकै समयमा खल्तीको एपबाट सोझै अनलाइन टिकट खरिद गर्न पाउनेछन् । यसका साथै दर्शकलाई वैकल्पिक सुविधा दिनका लागि खल्तीले दशरथ रंगशाला परिसरमा टिकट विक्रीका लागि काउन्टरहरु पनि सञ्चालन गर्नेछ ।

टिकट दर समूह चरणमा सामान्यतर्फ ३ सय र भीआइपी प्याराफिटतर्फ ५ सय रुपैयाँ तोकिएको छ । नकआउट चरणमा भने टिकट मूल्य साधारणतर्फ ५ सय र भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया