मंगलबार, वैशाख ९, २०८२

अवैध लागूऔषध सहित दुई जना पक्राउ

नेपालखोज २०८१ कार्तिक १ गते १७:३५

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगाबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीया चन्द्रमाया लो लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ जोरपाटीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६० मिलिग्राम सहित सोही गाउँपालिका–६ बस्ने २५ वर्षीय बिनोद राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

पोखरा महानगरपालिका–६ लेकसाईडस्थित ४८ वर्षीय बिरेन्द्र लामाको हिमाली किचनमा जुवातास खेलिरहेको अवस्थामा बिरेन्द्र समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ५७ रूपैयाँ, विभिन्न विदेशी मुद्रा र २ सय १३ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–४ नवदुर्गा चोकमा प्र–३–०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका–५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको थियो ।

साथै ना. २५ प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ गोदारस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाईस अनियन्त्रित भई दुर्घटना हुँदा हाईसमा सवार तेह्रथुम आठराई गाउँपालिका–२ बस्ने ४९ वर्षीय बासु देब गौतमको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पताल काठमाडौंमा थप

उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ थामडाँडास्थित सडकमा पैयाबाट खरिखोलातर्फ जाँदै गरेको प्र १–०७–००१ त ००१८ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–७ गुन्सा बस्ने २४ वर्षीय मिङमा दावा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको खरिखोला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ केउरेनी स्याङबोखोर बस्ने ६० वर्षीय मेघनाथ गिरी सोही ठाउँस्थित बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

डोटीको के.आई सिंह गाउँपालिका–२ तिखात्तरस्थित क्याम्पभित्र अर्घाखाँची सितगंगा नगरपालिका–८ घर भएका ४५ वर्षीय गोपाल रेश्मी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बाराको सुवर्ण गाउँपालिका–५ औरैयास्थित कबही बरियापुर सडकको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण माइती नेपालस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

तिलागुफा नगरपालिका–६ जुविधा बस्ने परेक शाहीको घरमा बुधबार दिउँसो आगालागी हुँदा उक्त आगो फैलिएर परेक समेत तीन जनाको घर जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया