बुधबार, वैशाख १०, २०८२

स्वास्थ्य समस्याका कारण खेलकुदमा पिछडिँदै महिलाहरू 

नेपालखोज २०८१ कार्तिक २ गते १७:००

काठमाडाैं । हिला खेलकुदले हालैका वर्षहरूमा धेरै ठुलो महत्त्व पाएको छ, तर महिला खेलाडिहरुको स्वास्थ्यका बारेमा भने चेतना र जानकारीको कमी छ । उनीहरुको स्वास्थ्यलाई बेवास्ता गरिएको छ जसका कारण उनिहरुको खेल क्षमताको पूर्ण विकास हुन सकेको छैन । महिलाको शरीर र स्वास्थ्य आवश्यकताहरू पुरुषको तुलनामा फरक हुन्छ र सही जानकारी तथा हेरचाहले उनीहरूको विशेष आवश्यकताहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

डा. रोसले २०१६ र २०२० को ओलम्पिकमा बेलायती टोलीका लागि स्वास्थ्य र फिटनेस योजना विकास गर्न मद्दत गरेकि थिइन् । उनले समाजमा स्वास्थ्य असमानता पहिले देखि नै रहेको तर खेलकुदको क्षेत्रमा यो असमानता अझ गम्भीर रहेको बताएकि छिन् ।

डा. रोस भन्छिन्, ‘ महिलाले आफ्नो शरीरलाई राम्रोसँग नबुझेका कारण धेरै कुरालाई सामान्य मान्छन् जुन वास्तवमा ठीक होइन।

पुरुष प्रशिक्षक वा कोचको नियत राम्रो हुन सक्छ तर कतिपय अवस्थामा उनीहरूले महिला खेलाडीको शारीरिक संरचना र आवश्यकतालाई पूर्ण रूपमा बुझ्न सक्दैनन् । साथै, खेलकुदको प्रकृति अनुसार खेलाडीहरूले आफ्नो पूर्ण क्षमता प्रयोग गर्दा कडा तालिमको अभ्यासले महिलाको स्वास्थ्यलाई हानि पु¥याउँछ ।”

डा. रोसका अनुसार , “खेलकुदमा धेरै प्रतिस्पर्धा र दबाब हुन्छ। यसमा सबैजना जित्न चाहन्छन् , कोहि पनि कमजोर देखिन चाहदैनन । साथै, महिलाको शरीरसँग सम्बन्धित कतिपय विषयमा गलत धारणाहरू छन्, जसलाई सम्बोधन गरिदैन । त्यसैले यी समस्यालाई खुला रुपमा स्वीकार गरी महिला खेलाडीहरुलाई सहयोग गर्न खेलकुद प्रणालीमा परिवर्तन ल्याउन जरुरी छ ।”

प्रणालीगत असमानता

सन् २०२२ मा इङ्ल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपपछि महिला फुटबलको लोकप्रियता निकै बढेको छ। यो बढ्दो लोकप्रियताको कारण, महिला खेलाडीहरूको स्वास्थ्य असमानतामा अलि बढी ध्यान दिइन्छ । इङ्ल्यान्डको चेल्सी फुटबल क्लबकी प्रबन्धक र अमेरिकाको राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक एम्मा हेसले महिनावारीका बारेमा खुलेर कुरा गरेकी छिन् । उनले बच्चा जन्माएपछि धेरै खेलाडीले उत्कृष्ट पुनरागमन गरिरहेको पनि बताइन ।

यसक्रममा घुँडाको गम्भीर चोटका कारण जुत्ताको समस्या, मैदानको नाजुक अवस्था र खेलको उच्च दबाबका विषयमा पनि छलफल हुने गरेको छ । वास्तवमा यो प्रणालीगत असमानता खेलकुदमा मात्र छैन । “स्वास्थ्य जानकारी र सेवाहरूमा पहुँचका हिसाबले पुरुष भन्दा महिलाहरुले बढि बाधाहरूको सामना गर्नु पर्छ ।” विश्व स्वास्थ्य संगठनको २०२१ को रिपोर्टमा पनि उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन भन्छ – “यसका धेरै कारण छन्, जस्तै घरबाहिर निस्कन बढी प्रतिबन्ध, आफूसँग सम्बन्धित निर्णय लिन कठिनाइ, शिक्षाको अभाव, सामाजिक विभेद, स्वास्थ्यकर्मीमा चेतनाको कमी तथा स्वास्थ्य सेवाहरुका बारेमा महिलाहरूको आवश्यकता र चुनौतीहरू अलग हुनुका साथै चेतनाको अभाव आदि।”

महिलाहरूलाई थप सहयोग चाहिन्छ

रोसले महिला स्वास्थ्यसँग सम्बन्धित यी समस्याहरू हटाउन काम गरिरहेकी छिन्। यसका लागि उनले इङ्लिस फुटबल एसोसिएसन (एफए) र स्वास्थ्य व्यवसायी ‘वेल एचक्यू ’बीच सम्झौता गरेकी छिन् । वेल एचक्यू रस द्वारा स्थापित गरिएको संस्था हो ।

“केही अवरोध र मानसिकता पार गर्न वर्षौं लाग्न सक्छ, केहि चीजहरू सजिलै परिवर्तन गर्न सकिन्छ,” रोस भन्छिन । ब्रेस्ट सपोर्ट पनि महिला खेलाडिहरुको एउटा समस्या हो जसमा खासै ध्यान दिइदैन । यसका कारण खेलाडीको प्रदर्शनमा ठूलो असर पर्न सक्छ । अध्ययनहरूले देखाएको छ कि भारी स्तन भएका महिलाहरूले ३७ प्रतिशत कम व्यायाम गर्छन्। यसैगरी सही स्पोर्ट्स ब्रा नलगाउँदा खेलाडीहरूको प्रदर्शनमा असर पर्न सक्छ।

उनी भन्छिन्, “शारीरिक रूपमा यो निकै महत्त्वपूर्ण छ। व्यायाम गर्दा स्तन धेरै हल्लियो भने शरीरले त्यसलाई स्थिर राख्न बढी ऊर्जा खर्च गर्छ। स्तनलाई राम्रोसँग सपोर्ट गरिएन भने महिलालाई छिट्टै त्यसलाई कायम राख्न पनि समस्या हुन सक्छ। दौडँदा गति, सही स्पोर्ट्स ब्रा नलगाउँदा छाती दुख्ने हुनुका साथै प्रदर्शनमा असर पार्न सक्छ।

दौडँदा छातीको गतिका कारण खुट्टाले पूरै बल प्रयोग गर्न नसक्ने भएकाले पाइलाको लम्बाइ कम हुने हुन्छ ।”
उनी बताउँछिन्, “२०२१ मा टोकियो गेम्स अघि हामीले स्पोर्ट्स ब्रामा ठूलो काम गरेका थियौं। त्यो अवधिमा, ५० प्रतिशत महिला खेलाडीले सही साइज र आवश्यकता अनुरुपको स्पोर्ट्स ब्रा लगाएका थिएनन् ।

धेरै मानिसहरूलाई लाग्छ – महिलाहरूलाई आफ्नो शरीरका बारेमा सबै कुरा थाहा हुन्छ र उनीहरूले आफ्नो हेरचाह कसरी गर्ने भनेर जान्दछन्, तर दुर्भाग्यवश त्यस्तो हुँदैन ।”

पोषणको समस्या

डा. रोस महिलाको पोषणसँग सम्बन्धित समस्याहरूका बारेमा पनि चिन्तित छिन्। शरीरको आकारप्रति मानिसहरूको दृष्टिकोणका कारण महिलाहरूले प्रायः पुरुषको तुलनामा कम खाना खान्छन्, विशेष गरी कार्बोहाइड्रेटयुक्त खानेकुराहरू। खेलाडीहरूलाई धेरै ऊर्जा चाहिन्छ, तर कम खानाले उनीहरूको महिनावारी रोक्न सक्छ तर यसलाई सामान्य कुरा मानिन्छ । यद्यपि यसले शरीरको हड्डी, मांसपेशी, मस्तिष्क र रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउन सक्छ । डा. रोस भन्छिन्, “कम खाना खाने केटीहरूमा तीनदेखि पाँच वर्षपछि हड्डी कमजोर हुने समस्या देखिन्छ। शरीरमा हड्डी बलियो बनाउने हार्मोनको उत्पादन कम हुन्छ। धेरै केटीहरूलाई दबाबका कारण हड्डीमा चोटपटक लाग्ने गरेको छ। ” रोस भन्छिन् – कम खाना खाँदा मानसिक स्वास्थ्यमा पनि असर पर्छ। यसले महिला खेलाडीको करियरलाई असर गर्न सक्छ।

उनले भनिन्, “हामीले यस विषयमा धेरै सुधार गर्नु आवश्यक छ। मलाई लाग्छ खेलकुदमा यसको प्रभाव हामीले सोचेभन्दा बढी छ। धेरै महिला खेलाडीहरूले उचित पोषण र शरीरको हेरचाह नभएका कारणले गर्दा राम्रो प्रदर्शन गर्न सक्दैनन्। यसको बारेमा सही जानकारीको अभावमा राम्रो हेरचाह पनि पुगेको छैन।”

महिनावारी, शरीर परिवर्तन र दुखाइ जस्ता समस्याका कारण धेरै केटीहरू खेलकुदबाट टाढा हुन्छन्। महिला स्वास्थ्यका बारेमा समाजमा अझै पनि चेतना र अध्ययनको अभाव छ । यद्यपि, खेलकुद जगतले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। सुरुमा राम्रो कार्यसम्पादनको दृष्टिकोणबाट मात्र हेर्दा पछि विस्तारै स्वास्थ्यसँग सम्बन्धित सबै पक्षमा पनि ध्यान दिन सकिन्छ ।

प्रतिक्रिया