आइतबार, वैशाख ७, २०८२

इतिहासमा कहाँ चुक्यौ ? वर्तमानमा के गर्दैछौं ? र भविष्य कता तर्फ निर्देशित भई रहेको छ ?

डा. अम्बिका शर्मा २०८१ कार्तिक २ गते १६:४४

नेपालमा लोकतान्त्रिक इतिहास, देशमा भएका राजनीतिक उथलपुथल र लोकतान्त्रिक प्रतिनिधित्व रहने प्रणालीको स्थापनाको लागि चलाइएको आन्दोलनहरूबाट निर्देशित रहेको  पाइन्छ। लोकतन्त्रको प्रारम्भिक स्थापना सन् १९५० को दशकमा राणा शासनको अन्त्य भए पछि भएको थियो र यसको सुरुवात सन् १९५१ को क्रान्तिबाट भएको थियो, जसबाट नेपालमा राणा शासनको अन्त्य गरी लोकतान्त्रिक ढाँचाको राज्य सञ्चालन प्रणाली स्थापना हुन गयो। 

यसरी स्थापना भएको लोकतन्त्रलाई राजा महेन्द्रले सन् १९६० मा राजतन्त्र स्थापना गरी पञ्चायत प्रणाली लागू गरी राजनीतिक दलहरूलाई खारेज गरी राज्य सञ्चालनमा केन्द्रीकरण गरी नागरिकका स्वतन्त्रताहरूलाई सीमित पारेको कारणले  यो लोकतन्त्रको यात्रा धेरैनै छोटो रहन गयो । यद्यपि तत्कालीन राजतन्त्रले देशको राजनीतिक र सामाजिक परिवर्तनमा धेरै सकारात्मक भूमिका खेलेको थियो। राजा महेन्द्रले अगाडी सारेका नीति तथा योजनाले नेपालको आर्थिक र सामाजिक विकासमा ठुलो प्रभाव पर्न गएको पाइन्छ । 

उनको शासनकालमा नै नेपाल राष्ट्र बैङ्क र सर्वोच्च अदालतको स्थापना भएको थियो, यी संस्थाहरूको स्थापनाले नेपालको आर्थिक र न्यायिक प्रणालीलाई अधिक सङ्गठित र प्रभावकारी बनाउन मद्दत गर्‍यो। राजा महेन्द्रको शासनकालमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पनि ठुलो पहिचान बनायो, संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्ति का साथ उनको विदेशी देशहरूसँग राम्रो सम्बन्ध स्थापना हुन गई देशको अन्तर्राष्ट्रिय स्थिति सुदृढ भयो। राजा महेन्द्रले नेपालको आधुनिकीकरण र विकासका लागि पहिलो पञ्चवर्षीय योजनाको सुरुवात वि.सं. २०१३ सालमा गरे जसले उत्पादन वृद्धि, रोजगारीका अवसरहरू सृजना, जनताको जीवनस्तर बढाउने, र विकास कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गर्नका लागि संस्थाहरू स्थापना गर्ने जस्ता कारहरु भए।

‘महेन्द्र राजमार्गको शिलान्यास वाट देशको पूर्व-पश्चिम सडक सञ्जाललाई उत्तर दक्षिण सञ्जाल सँग जोड्ने काम गर्‍यो र नेपालको आन्तरिक र बाह्य व्यापारलाई सुगम बनायो। यसको निर्माणले नेपालको आर्थिक विकासमा ठुलो योगदान पुर्‍यायो र देशको भौगोलिक एकतालाई पनि बलियो बनायो। 

उनको पालामा नेपालको सामाजिक क्षेत्रमा धेरै परिवर्तनहरू भए, विशेषतः उनले नेपाली जनताको स्वास्थ्य सुधार गर्ने उद्देश्यले अस्पतालहरू र स्वास्थ्य केन्द्रहरू स्थापना गरे।कृषि क्षेत्रमा सुधार गर्न कृषि उत्पादन बढाउने, कृषकहरूलाई आधुनिक कृषि उपकरण र प्रविधिहरू प्रदान गर्ने, र कृषि शिक्षा र प्रशिक्षण प्रदान गर्ने योजनाहरू ल्याए। यसले नेपालको कृषि क्षेत्रमा ठुलो परिवर्तन ल्यायो र नेपाली कृषकहरूको जीवनस्तरमा सुधार गर्न मद्दत गर्‍यो।राजा महेन्द्रले सामाजिक न्याय र समानताको प्रवर्धन गर्ने उद्देश्यले जातीय र लैङ्गिक विभेदको अन्त्य गर्ने र समाजमा समानताको वातावरण सिर्जना गर्ने प्रयासहरू पनि गरेका थिए। यसले नेपाली समाजमा सामाजिक समानता र न्यायको विकासमा योगदान पुर्‍यायो।

यसरी राजा महेन्द्रले स्थापना गरेको पञ्चायत प्रणालीलाई लोकतान्त्रिक आन्दोलनले अन्त्य गरी सन्१९९०मा संवैधानिक राजतन्त्र अन्तर्गत बहुदलीय लोकतन्त्रको पुन:स्थापना गर्‍यो। नेपाली जनता माझ राजा वीरेन्द्र  कठिन राजनीतिक परिवर्तन र चुनौतीहरूको बिचमा  देशको स्वतन्त्रता र एकतालाई अक्षण राख्न प्रयासरत सक्षम  राजाका रूपमा चिनिन्छन्। दुर्भाग्यवश, सन् २००१ जुन १ मा घटेको एक राजकीय हत्याकाण्डमा उनको हत्या भएपछि उनी सहित उनका परिवारको अचानक अन्त्य भयो, जसले नेपाल र विश्वलाई चकित पार्‍यो। 

यी परिवर्तनहरूको बाबजुद पनि नेपालको स्थिर लोकतन्त्रतर्फको यात्रा चुनौतीपूर्ण नै रहन गयो भ्रष्टाचार, राजनीतिक अन्तर कलह, र सन् १९९० को दशकमा उदाइरहेको माओवादी विद्रोह जस्ता कारणले देशको राजनीतिक परिदृश्यलाई झन् अस्थिर बनाइ दियो । 

सन् २००१ मा भएको राजा वीरेन्द्र लगायत शाही परिवारको हत्या पश्चात् राजा ज्ञानेन्द्रको सत्ता रोहण भयो उनको शासनकालमा  नागरिक स्वतन्त्रतामाथि झन् अङ्कुश लगाउने कार्यहरू भए, जसबाट परिस्थितिहरू जटिल बन्दै गए र जन प्रदर्शनहरूलाई व्यापक रूपमा उत्तेजित गर्‍यो, परिणामतः सन् २००६ को लोकतान्त्रिक आन्दोलन चुलिन पुग्यो, जसले राजा ज्ञानेन्द्रको राजीनामा, संसद्को पुन:स्थापना, र अन्ततः राजतन्त्रकै उन्मूलन गर्‍यो। त्यसपछि नेपालले एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सङ्क्रमणकालीन यात्रा सुरु गर्‍यो, जुन सन् २०१५ मा नयाँ संविधानको अङ्गीकरणसँगै औपचारिक रूपमा परिवर्तन भयो।

नेपालमा लोकतन्त्रको स्थापनाले राजनीतिक प्रक्रियामा विविध समूहहरूको समावेश र सत्ताको विकेन्द्रीकरण जस्ता धेरै सकारात्मक परिणामहरू ल्याएको छ । तर, यसले राजनीतिक अस्थिरता, आर्थिक सङ्घर्ष, र सङ्घीय संरचना र शासनका बारेमा जारी बहसहरू जस्ता महत्त्वपूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न सकिराखेको छैन । 

नेपालमा लोकतन्त्रको यात्रा यहाँका मानिसहरूको दृढता र सङ्कल्पको प्रमाण हो। विशेष गरी राजतन्त्रको अन्त्यपछि भएको लोकतन्त्रको स्थापनाले राष्ट्रको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन गर्‍यो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सङ्क्रमण काल, यो समावेशिताको दिशामा एक ठुलो कदम थियो, जसले विविध समूहहरूलाई राजनीतिक प्रक्रियामा सहभागी हुन मार्ग प्रशस्त गर्‍यो । शक्तिको विकेन्द्रीकरणले देशका विभिन्न क्षेत्र र समुदायहरूमा अधिकारलाई समान रूपमा वितरण गर्ने उद्देश्य राख्यो र  स्थानीय शासन र विकासलाई बढवा दियो ।

यी सकारात्मक कदमहरूको बाबजुद, नेपालको लोकतन्त्रले धेरै कठिनाइहरूको सामना गरिरहेको छ । राजनीतिक अस्थिरता कहिले नसकिने दीर्घ रोगको रूपमा रहन पुगेको छ, सरकारमा लगातार परिवर्तन र सत्ता सञ्चालनका पात्रहरूमा पटक पटक त्यहीँ अनुहार मात्र देखिनु तर आम मानिसका समस्याहरू ज्युका त्यूँ रहेको छ । यो अस्थिरता धेरै पटक धेरै राजनीतिक दलहरू बिचको सत्ताको लुछाचुँडी र अपवित्र सत्ता गठबन्धन जस्ता कारण वाट सृजित भएको देखिन्छ ।फलस्वरूप आम नागरिकले गर्नु परिरहेको आर्थिक सङ्घर्षका कारणले राज्य सञ्चालक प्रति वितृष्णा हुन गई सङ्घीय संरचना र शासनका बारेमा बहसहरू हुन गई विकल्प स्वरूप   सबैभन्दा प्रभावकारी प्रणाली खोज्ने समेतका प्रयासहरू जारी रहेको देखिन्छ ।

सन् २०१५ मा नयाँ संविधान लागू भए सँगै स्थापना गरिएको सङ्घीय संरचना केही समूह र क्षेत्रहरूको ऐतिहासिक बहिष्करणलाई सम्बोधन गर्ने एक साहसिक प्रयास थियो। यसका बाबजुद राज्यको स्रोत वितरण, विभिन्न समुदाय र वर्गको प्रतिनिधित्व, र देश भित्रका विभिन्न राज्यहरूको स्वायत्तताको हदको बारेमा बहसहरू  भई रहेको छ। शासन सञ्चालनका समस्याहरू, जस्तै भ्रष्टाचार र प्रशासनिक अक्षमता, नीतिहरूको कार्यान्वयन, सार्वजनिक संस्थाहरूमा चरम राजनैतिक करण, युवाहरूमा चरम निराशा, न्यायालय र संवैधानिक निकायमा राजनैतिक हस्तक्षेप, युवा जनशक्तिको व्यापक रूपमा भएको पलायन र राज्यको कार्य प्रणालीले स्थितिलाई थप जटिल बनाउँदै लागेको छ ।

बाँकी अर्को अंकमा ….

प्रतिक्रिया