अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं । झापाको भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलस्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित हल्दिबारी गाउँपालिका–२ बस्ने २५ वर्षीय बिष्णु राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ९६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक राजवंशीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उदयपुरको त्रियुगा नगरपालिका–१२ प्रगती टोलबाट अवैध लागूऔषध गाँजा १ सय ५० ग्राम र स्पास्मो ५० ट्याव्लेट सहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने त्रियुगा नगरपालिका–१२ फूलचोक बस्ने २० वर्षीय रूपन लिम्बु, सोही नगरपालिका–१३ असारीका ३५ वर्षीय मलिन थापा, ३६ वर्षीय संजिव थापा र सोही नगरपालिका–११ बस्ने २८ वर्षीय असिम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
बैतडीको दोगडा केदार गाउँपालिका–७ खोचलेकस्थित सडकमा सु.प. प्र ०१–००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार दोगडा केदार गाउँपालिका–२ बस्ने ४५ वर्षीया बसन्ती जोशीको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१६ फुर्तिचोकमा फुर्तिचोकबाट कार्कीचोकतर्फ जाँदै गरेको बा.प्र–०३००४ प ५१९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७७ वर्षीया बेल कुमारी गैरेको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको राप्तिसोनारी गाउँपालिका–१ सौरीस्थित सडकमा कैलालीबाट जनकपुरतर्फ जाँदै गरेको क.प्र.०२–००२ प १३७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक कैलाली लमकीचुहा नगरपालिका–७ खरैला बस्ने २४ वर्षीय ललित भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ बालुवाडाँडास्थित सडकमा बुलिङटारबाट कावासोतीतर्फ जाँदै गरेको बा.प्र.०७–००१ ज ००२० नम्बरको बोलेरो पिकअप गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुलिङटार गाउँपालिका–२ बस्ने २० वर्षीया पवित्रा मर्साङ्गीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३३ वर्षीय पुरूषको नवलपुर अस्पताल कावासोतीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार मध्ये १२ जनाको मध्यबिन्दु जिल्ला अस्पताल डण्डा र नवलपुर अस्पतालमा उपचार भइरहेको छ भने १८ जनालाई थप उपचारको लागि भरतपुर रिफर गरिएको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको कमल गाउँपालिका–५ स्थित सडकमा प्रदेश.१–०१–००१ ख ३४३५ नम्बरको बसले को.१६ प ५३२२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका–७ बस्ने ५५ वर्षीय पदम मुकारूम राईको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ स्थित पल्पसा प्याराडाईज होटलमा काठमाडौं महानगरपालिका–७ चावाहिल घर भएका ४७ वर्षीय अजय मानन्धर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दियाको गुलरिया नगरपालिका–१० रत्नापुर बस्ने ७० वर्षीय ढोडे यादव सोही नगरपालिका–१० मैकुघाटस्थित भादा नदीको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सुनसरीको रामधुनी नगरपालिका–३ स्थित सुनसरी मोरङ सिँचाई आयोजनाको नहरमा बराहक्षेत्र नगरपालिका–७ वाङगे बस्ने ५१ वर्षीय राजेन्द्र भन्ने पदम बहादुर भट्टराई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–९ सिनामंगल भत्केको पुल मुनि रहेको होमपाइपभित्र हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया