आइतबार, वैशाख ७, २०८२

‘स्तन क्यान्सर प्रभावितले आत्मबल बढाउनुपर्छ’

नेपालखोज २०८१ कार्तिक ८ गते १५:३६

चितवन । स्तन क्यान्सर प्रभावितहरुले आत्मविश्वास बढाउनुका साथै परिवारको माया, आत्मियता र स्याहार पाउन सके रोगलाई जित्न सकिने सरोकार भएकाले बताएका छन् ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा आज यहाँ आयोजित ‘स्तन क्यान्सर विजेता जमघाट तथा अन्तरक्रिया कार्यक्रम’ का सहभागीले श्रीमान् र परिवारको हौसला तथा स्वयंको आत्मविश्वासले रोगलाई परास्त गर्न सकिने धारणा राखेका हुन् ।

कार्यक्रममा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले आफू पनि स्तन क्यान्सर प्रभावित रहेको बताउँदै सहभागीलाई आफ्नो अनुभव सुनाए । उनले सुरुआतमा स्तन वरपर पोलेको जस्तो भएर विभिन्न ठाउँमा परीक्षण गराउँदासमेत रोग पहिचान हुन नसकेको बताउँदै भने, ‘नेपालमा पहिचान हुन नसकेपछि दिल्ली गएँ, त्यहाँ पनि पहिलोपटक पहिचान हुन सकेन, १० दिनपछि पुनः परीक्षण गर्दा स्तन क्यान्सर पहिचान भयो ।’

उच्च मनोबलका साथ उपचारमा लाग्नुपर्नेमा जोड दिँदै सभापति रावलले परिवारको साथ, सही उपचार र सकारात्मक उर्जाका माध्यमबाट स्तन क्यान्सरलाई परास्त गर्न सकिने धारणा राखे ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति डा विजयराज न्यौपानेले स्तन क्यान्सर विजेताहरुलाई सचेतनाका लागि सद्भावना दूत बनिदिन आग्रह गरे । क्यान्सर विजेताले आफ्नो अनुभव सुनाउँदै सचेतना फैल्याएमा प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गरे ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले नेपालमा क्यान्सरको अवस्था र उपचार विधिका बारेमा जानकारी गराए । उनले बाह्य र भित्री कारणबाट क्यान्सर हुने जनाउँदै ८० देखि ९० प्रतिशत बाह्य कारणबाट हुने क्यान्सरबाट भने बच्न सकिने बताए ।

स्वस्थ खानपान, नियमित व्यायाम र सक्रिय जीवनशैली जिउँन सके क्यान्सरबाट धेरै मात्रामा बच्न सकिने डा पौडेलले बताए । विश्वमा सबैभन्दा बढी एसियामा क्यान्सर रोगी रहेका तथ्याङ्क प्रस्तुत गर्दै उनले नेपालमा बर्सेनि २२ हजार आठ जनामा क्यान्सर पहिचान हुने र तीमध्ये १४ हजार सात सय चार जनाको मृत्यु हुने गरेको जानकारी दिए ।

प्रतिक्रिया