शनिबार, वैशाख ६, २०८२

आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय

नेपालखोज २०८१ कार्तिक १२ गते ७:३८

रामपुर (पाल्पा) । पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरुको व्यस्त बढेको छ ।

तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताए । उनी रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुन् । हाल नौजना कामदार झिनिया उत्पादनमा खटिएका छन् । ‘चाडबाडमा झिनियाको माग धेरै आउने भएकाले कामदार बढाएर उत्पादन गरिरहेका छौँ, ग्राहक तथा व्यापारीलाई झिनिया बिक्री गर्न तथा उत्पादन गर्न भ्याइनभ्याइ भएको छ, व्यापार राम्रो छ’, उनले भने ।

उनले विगत एक दशकदेखि झिनिया व्यवसाय चलाइरहेका छन् । विशेष गरी दशैँ तिहार लक्षित गरेर उत्पादन गर्दै आएका छन् । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ । दशैँ तिहारका बेला धेरै व्यापार हुने भएकाले यस समयलाई मध्यनजर गर्दै चाडपर्व अउनु एक-दुई महिनाअघिदेखि उत्पादन गरी भण्डारण गरेर राख्ने गरिएको उनी बताए ।

रामपुर उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्षसमेत रहेका रुद्रनारायण आजभन्दा एक दशकअघि रामपुरमा यो व्यवसाय थालनी गर्ने एक्लो व्यवसायी थिए । पछिल्लो समय उनले थालनी गरेको व्यवसाय सिको गरेर केहीले सानोरुपमा भए पनि व्यवसाय थालनी गरेको देख्दा खुसी लागेको बताए ।

हाल खुद्रा मूल्य रु एक सय र थोक मूल्य ९० मा धमाधम घरबाटै बिक्री भइरहेको छ । यस वर्ष यहाँ उत्पादन भएको झिनिया भैरहवामा समेत खपत भएको रुद्रनारायण बताए । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका विभिन्न बजार तथा ग्रामीण भेगमा राम्रो व्यापार हुने गरेको छ । व्यापारी तथा ग्राहक घरमै आएर खरिद गरेर लैजाने गरेका छन् । यहाँको झिनिया गुणस्तरीय, लामो समयसम्म राख्दा पनि नबिग्रने, खाँदा स्वाद राम्रो पाएपछि ग्राहकले निकै टाढा–टाढाबाट आएर लैजाने गर्छन् ।

हाते मेसिनबाट सुरु गरिएको व्यवसाय अहिले भने ठूलै उद्योगको रुपमा स्थापित भएको छ । हाल दैनिक दुईवटा विद्युतीय मेसिनबाट बिहानदेखि साँझ अबेरसम्म झिनिया तयार पार्ने गरिएको व्यवसायी लक्ष्मी बताए । ‘दुईवटा मेसिनबाट एक दिनमा एक हजार झिनिया उत्पादन हुने गरेको छ’, उनले भने, ‘यस व्यवसायबाट दशैँ तिहारमा मात्रै करिब रु पाँच लाखदेखि सात लाख बराबरको कारोबार हुने गरेको छ ।’

महिलाका लागि यो व्यवसाय आयआर्जनको बलियो माध्यमको रुपमा रहेको लक्ष्मीको अनुभव छ । यस व्यवसायमा आबद्ध भएपछि आफू परनिर्भर हुनु नपरेको उनले बताए । महिलाले बिहान साँझको घरको काम सकेर दिउँसोको समय झिनिया उत्पादन गरेर आयआर्जन गर्न सकिने र ठूलो लगानी नगरिकन सानो लगानीमा व्यवसाय गर्न लक्ष्मीको सुझाव छ ।

प्रतिक्रिया