शनिबार, वैशाख ६, २०८२

कुकुर पाल्नेहरूबाट कर लिएर कीर्तिमानी कमाई !

नेपालखोज २०८१ कार्तिक १५ गते १५:१४

काठमाडाैं । कुकुर पाल्दा कर तिर्नु पर्ने देशमध्ये जर्मनी पनि एक हो । यसलाई ‘Hundeshtoyer’ भनिन्छ। गत वर्ष जर्मनीले यो करबाट करिब ४२१ मिलियन युरो कमाएको थियो । यसअघि सन् २०२२ मा पनि यो करबाट ४१ करोड ४० लाख युरोको रेकर्ड कर प्राप्त भएको थियो । 

जर्मनीमा कुकुर पाल्ने चलन कत्तिको लोकप्रिय छ भन्ने कुरा पछिल्लो दशकको कर अभिलेखबाट देखिन्छ । सन् २०१३ देखि २०२३ सम्म यो करबाट राज्यको आम्दानी ४१ प्रतिशतले बढेको छ । 

जर्मन पेट ट्रेड एण्ड इन्डस्ट्री एसोसिएसन (ZZF) ले जर्मन घरहरूमा बस्ने कुकुरहरूको कुल सङ्ख्या गत वर्षको तुलनामा १० मिलियन भन्दा बढी रहेको अनुमान गरेको छ। यो सङ्ख्या यो वर्ष अझ बढ्ने अनुमान गरिएको छ । समाचार एजेन्सी डीपीएका अनुसार जर्मनीको प्रत्येक दोस्रो घरमा औसतमा एउटा घरपालुवा जनावर छ। यहाँ सबैभन्दा लोकप्रिय पाल्तु जनावरको सूचीमा कुकुर पहिलो नम्बरमा छ । 

कसरी लिइन्छ कुकुर कर ? 

जर्मनीमा कुकुर पाल्न चाहने हो भने पहिले ब्रीडर कहाँ  जानु पर्छ वन पशु आश्रयबाट कुनै कुकुरलाइ अपनाउन सकिन्छ। धेरैले विदेशबाट पनि कुकुर ल्याउँछन् । यसका लागि धेरै कागजी कार्यहरू पुरा गर्नुपर्छ। यो कर कुकुर पाल्नेहरूमा लगाइन्छ, तर बिरालाहरू यो करको दायरामा पर्दैनन्। 

जर्मन वेबसाइटहरूमा उपलब्ध जानकारी अनुसार यदि तपाईंले कुकुरको पप्पी घरमा ल्याउनुभएको छ भने त्यसलाई जन्मिएको तीन महिना भित्र दर्ता गर्नुपर्छ । यदि कुकुर वयस्क छ भने त्यसलाई पालिएको तीन देखि चार हप्ताको बिचमा दर्ता गर्न आवश्यक छ । सामान्यतया, दर्ता स्थानीय नगरपालिका कार्यालय वा टाउन हलमा गएर गरिन्छ । केही सहर तथा नगरपालिकाहरूमा अनलाइन दर्ताको सुविधा पनि उपलब्ध छ। 

यदि तपाईँसँग कुकुर छ र त्यसलाई दर्ता गरिईक‍ो वा कर तिरिएको छैन भने यो अपराध हो । जर्मनीमा आफ्नो कुकुरलाई कर कार्यालयमा दर्ता गर्ने बित्तिकै ‘कुकुर ट्याग’ पाइन्छ । कुकुरको ट्याग बाहिर  देखिने गरी झुन्डिएको हुनुपर्छ। 

नयाँ ठाउँमा सर्दा कुनै कारणले दर्ता भएको कुकुर साथमा नभए सम्बन्धित विभागलाई जानकारी गराउनु पर्छ । ‘वेलकम सेन्टर जर्मनी’का अनुसार कुकुर बेपत्ता भए वा मरेको अवस्थामा पनि विभागलाई जानकारी दिनुपर्ने हुन्छ ।

करबाट प्राप्त रकम घरपालुवा जनावरहरूसँग सम्बन्धित सेवाहरूमा खर्च गर्नु आवश्यक छैन । उक्त रकम नगरपालिकाले सामुदायिक सेवा जस्ता विभिन्न वस्तुहरूमा खर्च गर्न सक्छ। 

किन लगाइन्छ कुकुर कर ? 

बाहिर हिँड्नु कुकुरहरूको प्राकृतिक दिनचर्याको भाग हो। कुकुरले बिरालाहरू जस्तो घरको फोहोर बक्समा दिसा गर्दैनन्। सामान्यतया मानिसहरूले कुकुरहरूलाई बिहान र साँझ घुम्न बाहिर लैजान्छन्, जहाँ तिनीहरूले दिसा गर्छन्। जर्मनीमा सडकको छेउमा, नदीहरू नजिक वा पार्कहरूमा विशेष डस्टबिनहरू राखिन्छन्। 

यसो गरिएन भने पार्क र सडक सफा रहनेछैन । यो सरसफाइ प्रणाली कायम गर्न नगरपालिकाले करबाट क्षतिपूर्ति लिन्छ। जर्मनीमा कुकुर सामान्यतया घरपालुवा जनावर हो । तिनीहरू घर वा आश्रय गृहहरूमा बस्छन् जहाँबाट मानिसहरूले तिनीहरूलाई अपनाउन सक्छन् । जसका कारण सडकमा आवारा कुकुरहरू देखिदैनन । यो करले प्रशासनलाई कुकुरको सङ्ख्या नियन्त्रण गर्न पनि मद्दत गर्छ । 

यो करमा केही छुटको पनि व्यवस्था छ । विशेष आवश्यकता भएका व्यक्तिहरू जस्तै सेवा वा गाइड कुकुरहरूले दृष्टिविहीनहरूलाई मद्दत गर्ने , प्रहरी र लागू औषध विभागका कुकुरहरू र थेरापी कुकुरहरू इत्यादिमा कर रकम घटाउन वा छुट दिन सकिन्छ । यसका लागि उचित अभिलेख पेस गर्नुपर्ने हुन्छ । रिपोर्ट अनुसार केही नगरपालिकाले कहीँ विशेष परिस्थितिमा पशु करमा केही छुट पनि दिन्छन्।

प्रतिक्रिया