आइतबार, वैशाख ७, २०८२

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर वीरगञ्जमा मनाइयो छठ

नेपालखोज २०८१ कार्तिक २२ गते १८:५३

वीरगञ्ज (पर्सा) । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पर्सामा छठ पर्व हर्षोल्लाससहित मनाइएको छ । आज यहाँ जिल्लाका पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।

वीरगञ्ज महानगरसहितका पर्सा जिल्लाका छठघाटलाई सिँगारेर ‘बेहुली’ झै चिटिक्क पारिएको छ । श्रद्धालु भक्तजनहरु दिउँसो १२ बजेपछि घरनजिकै रहेको छठ घाटमा परिवारका पुरुष सदस्यले ‘दउरा’ (पूजाका सामग्री बोकेको ढकिया) बोकेर छठघाटमा पुगेका थिए ।

छठ कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य दिएर समापन गर्ने गरिन्छ । छठ पर्वको मुख्य तिथि भने आज कात्तिक शुक्ल षष्टीको दिनलाई मान्ने गरिन्छ ।

बर्तालुका अनुसार दउरामा विशेष गरी बोटसहितको अदुवा मुला, केरा, पिँडालु, बेसार, नरिवल, स्याउ, सुन्तला केरालगायत फलफूल, प्रसादमा ठेकुवा लिएर घाटमा पूजा आराधाना गर्ने चलन छ । अर्घ्यका लागि भने कसैली सुपारी, इलाइची, ल्वाङ, सिन्दुर चढाउने परम्परा छ ।

छठ पर्वमा महिला–पुरुष भक्तजनहरुले नदीबाट जल लिएर अस्ताउँदो वा उदाउँदो सूर्यतर्फ फर्किएर अर्घ्य दिने गरिन्छ । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकआस्थाको पर्व छठलाई वीरगञ्जमा निष्ठा र श्रद्धापूर्वक मनाइएको बताए । ‘श्रद्धालु भक्तजन महिलाले आफ्नो परिवार र सन्ततीको सुखी र समृद्धिको कामना गर्दै पानी समेत नखाई व्रत बसी छठ मनाउँछन्’, उनले भने, ‘छठ पर्व प्रकृतिसँग पनि सम्बन्धित छ ।’

घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानुले वीरगञ्जमा छठ पर्वलाई आदरपूर्वक मनाइने बताए । ‘हामीले विगत २२ वर्षदेखि प्राचीन कला संस्कृतिको संरक्षण र जर्गेना गर्दै छठ पर्व मनाउँदै आइरहेका छौँ’, उनले भने, ‘घडीअर्वा पोखरीमा दिउँसोदेखि नै श्रद्धालुभक्तजनहरुको बाक्लो उपस्थितिमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । विधिवत् रुपमा छठ पूजाको समापन भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिनेछ ।’

प्रतिक्रिया