आइतबार, वैशाख ७, २०८२

सकिमिला (सकिमना) पून्ही

सुनिल उलक २०८१ कार्तिक ३० गते १६:४२

सकिमिला (गेडागुडीको चित्रकारिता)

काठमाडौं । आज कार्तिक शुक्ल पूर्णिमा कछलाथ्व । आजको दिन विशेष रूपले सकिमिला पून्हीको रूपमा नेवा: समुदायले मनाउने गर्दछन्। साथै यस चख: (परिवार मात्रै बसेर मनाउने) को दिन मन्दिरहरूको अगाडि विभिन्न किसिमका भुटेका गेडागुडीबाट विभिन्न आकृति बनाउने गर्दछन् जसलाई हलिमलि भन्ने गर्दछन् । 

यो दिनलाई स्वयम्भू चैत्यको प्रतिस्थापन भएको रूपमा पनि मनाउने गरिन्छ । किसानहरूले घरमा भित्राइने अन्नहरू तथा कन्दमूलहरूलाई भगवानलाइ सुम्पने गरिन्छ । भुटेको मकै, भटमास, चना आदी गेडागुडीले विभिन्न आकृति बनाएर सजाइन्छ । यस्तै उसिनेको सक्खर खण्ड तथा पिँडालु खाने गरिन्छ । 

जाडो महिनाको सुरुवात तथा खेती किसानीहरू अत्यधिक परिश्रम गर्ने समय हुँदा शरीरमा आवश्यक प्रोटिनको आपूर्ति गर्ने खाद्य पदार्थका यस दिन तरुल, सक्खर खण्ड, पिँडालु लगायतका कन्दमूल उसिनेर खाइन्छ । जसले गर्दा यस दिनलाई सकिमना पुन्ही पनि भन्ने गरिन्छ । सकी भनेको तरुल र मना को अर्थ उसिन्ने हो । पूर्णिमाको रातमा खाइने हुँदा सकिमना पुन्ही भनिएको हो । यसका साथै यस दिन मकै, भटमास, चना, केराउ, भट्ट, बदाम, सिमी, रुख कटहरको बियाँ, फर्सीको बियाँ लगायतका गेडागुडी भुटेर मिसमास गरेर खाइन्छ । यसरी सबै गेडागुडी मिसमास गरेर खाने हुँदा यस दिनलाई हलिमलि भन्ने गरिएको हो । यसरी मिसमास गरिएको गेडागुडीलाई छुस्यामुस्या पनि भन्ने गरिन्छ ।

यी वस्तुहरूको सेवनले शरीरमा तातो हुने तथा ताकत दिने हुन्छ । अन्य जातिमा माघ १ गते तरुल उसिनेर खाने गरिए पनि नेवाःहरु जाडो सुरु हुनु अगाडि तरुल उसिनेर खाने गर्दछन् । यस दिनको अन्य महत्त्व पनि रहेको छ ।

खासगरि महिलाहरू यस दिन पूर्णिमाको व्रत बस्दछन् । दिनभर फलाहार खाएर बस्दछन् र राति चन्द्रमाको पूजा गर्दछन् । आजको व्रत पछि प्रसादका रूपमा गेडागुडी नै सबैलाई बाँडिन्छ । यस दिन दशैको अन्तिम दिन कोजाग्रत पूर्णिमाको रातबाट बाल्न थालिएको आलमत (आकाशदीप) पनि आजको रातसम्म मात्र बालिन्छ । 

आखिर किन यसरी आकृति बनाइन्छ भन्नेमा विभिन्न किंवदन्ती सुन्न पाउँछौ । जस मध्ये प्रचलित किंवदन्तीमा स्वर्गका राजा फूल टिप्न पृथ्वी लोकमा आइपुग्दा फूल चोरेको भन्दै मालीले बाँधेर राख्दा इन्द्रलाई खानेकुराको रूपमा यही हलिमलि (गेडागुडी) दिएको हुँदा आजको रात चन्द्रमा साक्षी राखेर इन्द्रलाई हलिमलि खुवाउन राखिएको भनिन्छ ।

आखिर किंवदन्ती जे जस्तो भए पनि तथ्यहरूलाई केलाउँदा कृषिलाई सर्वोपरि मान्ने हाम्रो संस्कृतिमा यस मौसममा भित्रिने गेडागुडीलाई भुटेर सबैभन्दा पहिले देवतालाई चढाउने परम्परा स्विकार्न सकिन्छ ।

दाफा खलः तथा भजन खलःहरुले जनै पूर्णिमाबाट सुरु गरेको भजनहरू पनि आजको दिनबाट समापन हुने गर्दछ । 

हलिमलिको रात मन्दिर तथा चैत्यहरूका अगाडि त्यही मन्दिर वा चैत्य स्वरूपमा गेडागुडीबाट चित्र बनाउन गरिन्छ । यसले एकतर्फ चित्रकारिताको विकास हुन्छ भने अर्को तर्फ संस्कृति प्रतिको मोह अझ बढ्दछ । उपत्यकाका विभिन्न मठ मन्दिरहरूमा हलिमलि बनाउने क्रम तीव्र रूपमा बढेको पाइए पनि पोखरामा भने बिस्तारै घट्दो क्रममा छ । उपत्यकामा अचेल स्कुलहरूमा समेत हलिमलि बनाउने गरेको देखिन्छ । तर उपत्यका बाहिरकाहरुमा यस प्रति रुचि घट्दै गरेको देखिन्छ । संस्थागत रूपमा रहेका नेवाःहरुको खलः, पुचःहरुमा समेत यो संस्कृति प्रति बेवास्ता देखिन्छ । 

यसै अवसरमा उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा बनाइएका हलिमलिको सामाजिक सञ्जालमा भेटिएका तस्बिरहरूलाई यहाँ राख्ने कोसिस गरेको छु ।

प्रतिक्रिया