करिब एक सय ५० किलो गाँजा सहित दुई जना पक्राउ

महोत्तरी । औरही नगरपालिका–१ औरही चेक पोष्ट अगाडि सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम, नगद ७७ हजार रूपैयाँ र मोवाइल ३ थान सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–११ बस्ने २७ वर्षीय आकाश ठाकुर र हरिवन नगरपालिका–२ बस्ने ३० वर्षीय पेमा दोर्जे लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले गौशलाबाट औरहीतर्फ आउँदै गरेको युपि ५७ एएफ ९४९५ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिकीमा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक आकाश र कारमा सवार पेमा दोर्जेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट तीन जना पक्राउ
मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय श्याम लिम्बुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवा बस्ने ५२ वर्षीय राम केवटलाई अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेउडेहवाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज पक्कीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय मिलिग्राम सहित भिमदत्त नगरपालिका–१८ भगतपुर बस्ने २५ वर्षीय प्रतिक कुँवरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त टोलीले सु.प.प्र.०२–००३ प ४६६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक सहित दुई जना पक्राउ
दशरथचन्द नगरपालिका–९ लमौता बस्ने ३६ वर्षीय तारा दत्त जोशी र ४३ वर्षीय महेश दत्त जोशीलाई भरूवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नागार्जुनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–६ बस्ने २१ वर्षीय श्यामकुमार दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्यामकुमारले ती किशोरीलाई कात्तिक १९ गते राति मोरङ सुन्दरहरैचा नगरपालिका–४ बाँसबारी कुटिटोल डेरा गरी बस्ने श्यामकुमारको दाइको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
ललितपुर महानगरपालिका–४ सानेपा बागडोलस्थित राजेन्द्र महर्जनको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–३ बस्ने ५० वर्षीय श्याम महर्जन समेत ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ५ सय रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया