कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संलग्न तीन जना पक्राउ

रूपन्देही । मायादेवी गाउँपालिका–७ बैरीहवा बस्ने ३५ वर्षीय राजु सहानीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहार रहेका छन् । पुरानो रिसइवीको कारण उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका राजुको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूपन्देही र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले कुटपिटमा संलग्न हाल फरार सोही ठाउँ बस्ने २१ वर्षीय अजय सहानीको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
रूपन्देहीको सैनामैना नगरपालिका–९ स्थित सडकमा लु.प्र.०१–००३ प ००६९ नम्बरको स्कुटर र लु.१ ज ४९१५ नम्बरको फोर्स गाडी एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका–११ कुलचन्द्र पथ बस्ने ५० वर्षीय होम बहादुर छन्तेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको मेचीनगर नगरपालिका–१० टिकापुरस्थित सडकमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प ३१७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बागलुङको ताराखोला गाउँपालिका–४ हिले खोलास्थित सडकमा दोगाडिबाट तिनचुलीतर्फ जाँदै गरेको ग.९ प ९०१५ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही गाउँपालिका–५ रानिबास बस्ने १९ वर्षीया करिस्मा घर्तीको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको धौलागीरी अस्पताल बागलुङ हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१० आदर्शनगरस्थित सडकमा जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको युपि ४३ एजेड ६४६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–२ घरबारी टोल बस्ने ४० वर्षीय मनिस कुमार श्रीवास्तवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–२ भाङबारीस्थित सडकमा बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना.२७ प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक तनहुँ देवघाट गाउँपालिका–२ नरम बस्ने २१ वर्षीय विकाश थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–५ पिखेलस्थित सडकमा चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना.२ त ९३४० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय हरी गोबिन्द सुवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै अन्नपुर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ५ जना मध्ये १ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया