न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने २४ वर्षीया नबिना दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
नबिनाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१३ लालपुर बस्ने २० वर्षीय अमिर अली र कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने २५ वर्षीय सुरेन्द्र विक रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका–८ बाबानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम, मोबाइल २ थान र नगद १२ हजार ९ सय १० रूपैयाँ सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–८ ठेगाना भएका ३० वर्षीय रेशम विक, सोही नगरपालिका–८ गोल्छा बस्ने २४ वर्षीय दिपक यादव र २२ वर्षीय केशव नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले रेशमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरीको कोशी गाउँपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका बराहक्षेत्र नगरपालिका–९ राजावास बस्ने २२ वर्षीय शिव चन्द्रवंशी र २० वर्षीय अभिषेक चन्द्रवंशीलाई २ ग्राम, भारतबाट नेपालतर्फ आउँदै गरेको को.१४ प १९१७ नम्बरको मोटरसाइकलमा सवार भोक्राहा नरसिंह गाउँपालिका–५ बस्ने १९ वर्षीय नजाम मन्सुरीलाई ८ सय ३० मिलिग्राम र प्रदेश.१–०१–०१३ प ७६१५ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–२ बस्ने ४० वर्षीय अमित गुरूङ र ४० वर्षीय हुकुम राईलाई १ ग्राम ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न हातहतियार सहित दुई जना पक्राउ
भिमदत्त नगरपालिका–९ कालीगाडा खोलाबाट भरूवा बन्दुक २ थान, बारूद २ प्याकेट, खुकुरी २ थान, बन्दुकको सिसा ३८ थान, फलामको टुक्रा २७ थान र बन्दुकको क्याप १२ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेम बहादुर धामी रहेका छन् । इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त टोलीलाई उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
गौर नगरपालिका–१ ट्रान्सफर्मर चोकबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित सोही ठाउँ बस्ने ५४ वर्षीय बिरेन्द्र कुमार जैसवाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सडकमा बा.प्र. ०२–०२२ प ७५९७ नम्बरको स्कुटरलाई बा.७८ प ५९६५ नम्बरको मोटरसाइकलले मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका–५ बस्ने ४२ वर्षीय राम कृष्ण कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डडेल्धुराको पर्शुराम नगरपालिका–९ नौलास्थित सडकमा कञ्चनपुरको दैजीबाट जोगबुढा डडेल्धुरातर्फ आउँदै गरेको लु.१ ज ४५७९ नम्बरको बोलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही नगरपालिका–११ सलेता बस्ने ४० वर्षीया मोति देवी सार्की र आलिताल गाउँपालिका–७ थली बस्ने ३८ वर्षीया धना देवी बुढाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटना घाइते भएका जिपमा सवार १० जना मध्ये ४ जनाको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचार भइरहेको छ भने ६ जनालाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी कैलाली पठाइएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–८ चार नम्बरस्थित सडकमा शिवपुरबाट मणिग्रामतर्फ जाँदै गरेको लु.२ ख ३०१९ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर थापाको मंगलबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१ डोडापुलस्थित सडकमा से.३ प ७६७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ जुरपानी बस्ने २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी रिफर गरिएको छ ।
पर्साको वीरगंज महानगरपालिका–२५ बहुअरी चोकस्थित सडकमा पावरहाउसबाट बिन्दबासिनीतर्फ जाँदै गरेको ना.४१ प ११७४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बारा कलैया उपमहानगरपालिका–४ बस्ने ४५ वर्षीय राम नारायण राउत कुर्मीको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको तराई हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया