शुक्रबार, चैत २८, २०८१

भारत चीन युद्ध समाप्तिको ६२ वर्ष 

सुनिल उलक २०८१ मंसिर ७ गते १२:१३

बि.सं. २०१९ सालको दसैँको धूमधाम सकिएर भारतीयहरू दीपावलीको तैयारी गर्दै थिए । धनतेरसको लागि दुई दिन बाकी थियो । काग तिहार मनाउने वा भनौँ धनतेरसका रूपमा घरमा नयाँ सामान भित्राउनका लागि के खरिद गर्ने भन्दै सोच्दै थिए । यस्तैमा कार्तिक ७ गते चीनले भुटान, भारत र चीनको सीमा क्षेत्रमा पर्ने उत्तरी क्षेत्र नाम्का चु नदीले बनाएको सानो उपत्यकामा चिनिया सैनिकहरूले आक्रमण गरे । ढोला पोस्टमा रहेका सैनिकहरू मध्य १७ मारिए भने १३ लाई समातेर लगे । चीनको विरोधका बाबजुद पनि चिनिया सीमा नजिकै भारत सरकारले ५ महिना अगाडि मात्र ढोला पोस्ट खडा गरेका थिए । राजपूत सेकेन्ड बटालियनका करिब २८२ सैनिकहरू र अफिसर त्यहाँ खटाइएको थियो । रातमा गरिएको यो आक्रमणमा गोलाबारीले गर्दा राती आकाश नै उज्यालो भएको थियो । त्यसको भोलिपल्ट चिनिया सैनिकहरूले तवाङ्गमा आक्रमण गरेर त्यस सहर पनि कब्जा गरे । यसरी चीन र भारतको युद्धको सुरुवात भएको थियो ।

करिब एक महिना लामो यस युद्धमा भारतीय सेनाका करिब ३१०० जवानको मृत्यु भयो भने करिब यति नै जवान चिनिया सैनिकहरूले युद्ध वन्दीका रूपमा समातिए । १००० भन्दा बढी घाइते भएका थिए । तर भारतीय पक्षले केवल १३८३ सैनिकको मृत्यु भएको, १७०० हराएका र १०४७ सैनिक घाइते भएको विवरण सार्वजनिक गरेको थियो । उता चीन पक्षमा पनि ७२२ को मृत्यु भएको, १७०० घाइते भएको भन्ने विवरण सार्वजनिक गरेको थियो । भारतीय सैनिकहरू बढी मृत्यु हुनुको कारण चिसो मौसम र उच्च हिमाली क्षेत्रमा भएको युद्धका कारण पनि थियो । दोस्रो चीनसँग आधुनिक हतियार तथा तथा प्रशिक्षित सैनिकहरू अत्यधिक थिए । तर भारतसँग भने चीनसँग भन्दा कम सैनिक, पहिलो विश्वयुद्धको समयको पुरानो हात हतियार, अर्धदक्ष सैनिक तथा चिसो मौसममा युद्ध गर्न असमर्थ सैनिक थिए । जसले गर्दा युद्धमा भारतीय पक्षको हार निश्चित थियो । एक महिनाको युद्धको समयमा करिब ३२ हजार वर्ग मिल भारतीय भूमि चीनको अधीनमा पुगिसकेको थियो ।  

यसरी जताततैबाट हारको नजिक पुगेको भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई  नवबम्वर १९ तारिखमा सहयोगका लागि दुई वटा पत्र लेखे । यो पत्र मध्य दोस्रो पत्रमा अमेरिकी हातहतियार तथा युद्धका विमानको सहयोगको अनुरोध गरिएको थियो । यसरी लेखिएको दोस्रो पत्र नेहरुले For his eyes only भनेर अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले मात्र पढ्ने भनेर एकदम गोप्य राख्न लगाएका थिए । केवल राष्ट्रपतिले पढेर नष्ट गर्न अनुरोध गरिएको यो पत्रको प्रतिलिपि भारत सरकारले पनि नष्ट गरेको थियो । यो पत्र यति गोप्य थियो कि नेहरु स्वयंले टाइप गरेर खाम बन्द पत्र आफ्नो राजदूत मार्फत अमेरिकी राष्ट्रपतिको हातमा बुझाएका थिए । यसको कुनै पनि जानकारी भारतीय मन्त्री तथा उच्च कर्मचारीहरूलाई समेत दिइएको थिएन ।

अमेरिकी राष्ट्रपतिले वास्तविकता बुझ्न तत्कालै अमेरिकी दूत पठाएका थिए । यसको गोप्य विवरण चिनिया सेनाले शायद प्राप्त गरेको थियो होला । त्यसैले चीन सरकारका तर्फबाट अचानक युद्ध विरामको घोषणा  नवबम्वर २० तारिखको राती भयो । २१  नवबम्वरको बिहान दुवै तर्फबाट युद्ध विराम भयो र भारत चीन युद्ध समाप्त भयो ।  

यो युद्धले भारतको आर्थिक अवस्था एकदम तल झरेको थियो । भारतीय जनतामा युद्धको त्रास त थियो नै दोस्रो सरकारले भारतीय विमान सेवा इन्डियन एयरलाइन्सको पनि सम्पूर्ण नियमित उडान रद्द गरेर सैनिक तथा सामग्री ‌ओसारपसार गर्न लगाएको थियो । नेपाल तर्फ पनि एक किसिमको त्रास फैलिएको थियो । भारतीय सेनामा रहेका नेपालीहरूका परिवार पनि पिडामा थिए । अन्ततः युद्ध विरामले सबै तिर खुसीयाली छायो ।

प्रतिक्रिया