मंगलबार, वैशाख ९, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा नौं जनाको मृत्यु

नेपालखोज २०८१ मंसिर १० गते १३:१०

मोरङको सुन्दरहरैंचा नगरपालिका–५ दुलारीस्थित सडकमा बा.प्र.०८–००१ च ०४७ नम्बरको हाईस गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका–४ बस्ने ४४ वर्षीय चन्द्र कुमार राईको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित सडकमा प्र.१–०२–००२ ख ०४१५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय कृष्ण बहादुर रूम्बाको आइतबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको तराई अस्पताल सिमरा हुँदै बयोदा अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ नौ किलोस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा ट्रकमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको एलाईभ अस्पताल भरतपुर र १ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्‍चिमको सुनवल नगरपालिका–४ अलकत्रे डाडास्थित सडकमा लु.३६ प९५५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक रूपन्देही देबदह नगरपालिका–४ पिप्रैया बस्ने ५१ वर्षीय गणेश प्रसाद भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको रूपनी गाउँपालिका–४ छप्कीस्थित सडकमा प्र.२–०१–००१ त १०८६ नम्बरको ट्याक्टरबाट खसेर सोही गाउँपालिका–३ कटैया बस्ने २५ वर्षीय शंकर राउतको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित सडकमा रा.७ प ४९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सल्यान बाघचौर नगरपालिका–३ बस्ने ३० वर्षीय लिलाराम डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दियाको राजापुर नगरपालिका–८ धोबिनपुरस्थित सडकमा लु.२ ख ५९१९ नम्बरको फोर्स गाडीले भे.४ प ७८३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक राजापुर नगरपालिका–८ भोगपुर बस्ने ५४ वर्षीय चेतुवा थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमा मिहोरिया चोकमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश–१–०४–००१ च १३८६ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया कमलादेवी चौधरीको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त कार सोही ठाउँस्थित रूखमा ठक्कर खाई अनियन्त्रित भइ पैदलयात्रीलाई समेत ठक्कर दिई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार २ जना र अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु

हंसपुर नगरपालिका–२ करैया बस्ने श्रीराम मण्डलको छोरी २ वर्षीया सुस्मा मण्डलकको घर अगाडि रहेको पानी ट्याङकीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु

मिथिला नगरपालिका–१ लक्ष्मीनिवास बस्ने २१ वर्षीय मिथलेश कुमार महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित तरकारी बालीमा सुरक्षाको लागि खेत वरिपरी करेन्ट प्रवाह गरेको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया