मंगलबार, वैशाख ९, २०८२

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

नेपालखोज २०८१ मंसिर ११ गते १३:०५

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका–९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङ सिद्धलेक गाउँपालिका–७ आदमटार घर भई काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने ३६ वर्षीय पदम बहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–३ कपन बस्ने ४१ वर्षीय कार्त्तितक लाल राजवंशी रहेका छन् ।

पक्राउ मध्ये रविनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, पदमले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र कार्त्तितकले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रविनलाई काठमाडौं काँडाघारीबाट र पदमलाई काठमाडौं नयाँबजारबाट आइतबार तथा कार्त्तितकलाई काठमाडौं दरबारमार्गबाट सोमबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न दुई जना पक्राउ

अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–१६ ईनर्वागाउँ बस्ने ३० वर्षीय सन्तोष दास तत्मा र सोही महानगरपालिका–१६ नगवा बस्ने ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन् ।

रौतहट कटहरिया नगरपालिका–६ बस्ने ४१ वर्षीय पुरूषलाई आइतबार अपहरण गरी फिरौती रकम माग गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका–१६ ईनर्वागाउँबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५० हजार रूपैयाँ र अपहरणमा प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बन्धक बनाई कुटपिट गरेको अभियोगमा तीन जना पक्राउ

धनगढी उपमहानगरपालिका–४ तारानगर डेरा गरी बस्ने २ जना किशोरहरूलाई अपहरण गरी बन्धक बनाई कुटपिट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–१ अत्तिरिया बस्ने २४ वर्षीय भुपी खड्का, कैलाली धनगढी उपमहानगरपालिका–१ सन्तोषी टोल बस्ने कञ्चनपुर बेलौरी नगरपालिका–५ घर भएका १८ वर्षीय किशोर र डडेल्धुरा अमरगढी नगरपालिका–१ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

धनगढी उपमहानगरपालिका–४ तारानगरस्थित बाझो घरमा बन्धक बनाई लागूऔषध खुवाई खुकुरी समेत देखाई ३ जना मिलेर आइतबार कुटपिट गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वालेट सेवाग्राहीहरूको केवाईसी रूजु गर्ने तीन जना पक्राउ

वालेट सेवाग्रहीहरूको केवाईसी रूजु गर्ने वालेटकै ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका–५ ठेगाना भई काठमाडौं तिलगंगा बस्ने २० वर्षीय साहिल श्रेष्ठ, गोरखा सिरानचोक गाउँपालिका–४ ठेगाना भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय सविन कुमार कुमाल र रामेछाप उमाकुण्ड गाउँपालिका–२ ठेगाना भई काठमाडौं पशुपति बस्ने २२ वर्षीय सुरेन्द्र बस्नेत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

वालेटका ग्राहकहरूको केवाईसी रूजु गर्ने विभागका ती कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी रूजु गर्नको लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपी लगायतका विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा फरक–फरक मोवाइल नम्बरहरूबाट ५५ वटा भन्दा बढि वालेटहरू गैरकानुनी रूपमा खोली उक्त वालेटहरूलाई रूजु गरी आर्थिक कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर आपराधिक विश्वासघात गर्न नहुने कसूरमा कानून बमोजिम आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेल पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ तिनताप्केस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७१ किलोग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–९ खैराङ बस्ने २० वर्षीय मिलन घलान र २६ वर्षीय दावा थिङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक मिलन र बोलेरोमा सवार दावालाई पक्राउ गरेको हो ।

झापाको कमल गाउँपालिका–७ ठुलोबाह्रघरे बस्ने ३८ वर्षीय संदेश बस्नेतलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पासेन ५ हजार २६ क्याप्सुल र डेकोलिक ४ सय २० क्याप्सुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बाह्रघरे र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापाको गौरीगंज गाउँपालिका–१ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोबिन्द राजवंशी र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी कुन्जिबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय कमल सिंह बन्जारा थारू र लम्किचुहा नगरपालिका–५ बस्ने ३५ वर्षीय काशिराम खड्का रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया