वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकनवानपुर बकैया गाउँपालिका–५ घर भई काठमाडौं नागार्जुन नगरपालिका–५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ घर भई काठमाडौं टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेका छन् ।
पक्राउ मध्ये सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुवई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुवर्णलाई काठमाडौं बाफलबाट सोमबार र मनिषालाई काठमाडौं नयाँबसपार्कबाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
करिब ३ सय ३० किलोग्राम गाँजा सहित तीन जना पक्राउ
मकवानपुर, भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्राम सहित गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक अमिरलाई पक्राउ गरेको हो ।
बारा, कोल्हवी नगरपालिका–५ सोनाभार टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७० किलोग्राम सहित सोही ठाउँ बस्ने ५२ वर्षीया मनमती देवी र ५० वर्षीय रमोद चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हवी र सशस्त्र बेश कोल्हवीबाट खटिएको संयुक्त टोलीले मनमतीको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ३० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका–२ शक्तिनगर बस्ने २९ वर्षीय कर्म जित शाहीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित सोही महानगरपालिका–१५ बस्ने २१ वर्षीय सेफ्ला अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्क गिरीबन्दु टोल बस्ने ४८ वर्षीय रविन तामाङलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पाँचथरको फिदिम नगरपालिका–१ बुद्धमार्गबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १६ क्याप्सुल सहित तुम्वेवा गाउँपालिका–३ बस्ने १९ वर्षीय विवश सम्वाहाम्फे समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ
वीरगंज महानगरपालिका–८ स्थित रेल्वे रोडबाट सुन जस्तो देखिने पहेंलो धातु १ सय ७ ग्राम ८९ मिलिग्राम सहित सोही महानगरपालिका–१५ भेडियाही बस्ने २८ वर्षीय जय प्रकाश कुमार सोनारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.६२ प २७०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जय प्रकाशलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा चार जनाको मृत्यु
कपिलवस्तुको यसोधरा गाउँपालिका–७ सोमढीहस्थित सडकमा लु.५५ प ३७३४ नम्बरको मोटरसाइकल र युपि ५५ एके ३५७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा लु.५५ प ३७३४ नम्बरको मोटरसाइकल चालक यसोधरा गाउँपालिका–८ सिंहखोर बस्ने ३१ वर्षीय सब्दान हुसेन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका युपि ५५ एके ३५७५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मोरङको बुढिगंगा गाउँपालिका–५ गाउँपालिकाको भवन नजिक सडकमा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री सोही गाउँपालिका–५ बस्ने २५ वर्षीय जलेश्वर सरदारको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बागझोडास्थित सडकमा प्र.१–०२–०४६ प ३२१२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० बस्ने ६४ वर्षीया सीता गुरागाईको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–१ कमलपुलस्थित सडकमा प्रदेश १–०१–००१ च ८२२१ नम्बरको बोलेरो पिकअप र मे.६ प २५१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया