मंगलबार, वैशाख ९, २०८२

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८१ मंसिर १६ गते १२:३५

कञ्चनपुर । आफ्नै श्रीमती ३० वर्षीया ज्योती बिष्टको हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका–८ तिलाचौर बस्ने ४८ वर्षीय नरेन्द्र सिंह बिष्टलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

नरेन्द्र सिंहले मादक पदार्थ सेवन गरी हँसिया प्रहार गर्दा ज्योतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूहको तालिम सञ्चालन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखाचित्रण पाँचौ समूहको तालिम सञ्चालन भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले तालिम उद्‍घाटन गर्दै बढ्दो सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरूलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गरे ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३० जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २१ जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलोग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने २७ वर्षीय अनिल कुमार थिङ र सोही गाउँपालिका–९ बस्ने ३२ वर्षीय राजेन्द्र मुक्तान रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले सिमपानीबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख २३४४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिट भन्दा माथि क्यबिनमा प्लाष्टिकले बेरेर लुकाई छिपाई राखिएको उक्त गाँजा फेला पारी ट्रक चालक अनिल र ट्रकमा सवार राजेन्द्रलाई पक्राउ गरेको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–११ हथौसाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही नगरपालिका–५ झण्डा बस्ने २९ वर्षीय बिनोद थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

डडेलधुराको आलिताल गाउँपालिका–१ मेलखर्क बस्ने ६३ वर्षीय अम्बर बहादुर बोहरालाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ सय १८ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम, नगद ३ हजार रूपैयाँ र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने ३५ वर्षीय कमल नेपाली समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका–११ झुम्केटारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ५ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका–९ मकुन्डाँडा बस्ने २० वर्षीय धिरेन्द्र प्रताप बिक र तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने ३८ वर्षीय बाबुराम चौधरी रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट शिवपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ९ ग्राम २ सय ६० मिलिग्राम र बाबुरामलाई ६ ग्राम ३ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित गोस लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय २ ट्याब्लेट, डाइसे ८५ ट्याब्लेट र स्पास्पेन ३ सय ६ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० बस्ने २७ वर्षीय टाईसन राई र सोही नगरपालिका–४ बस्ने ३५ वर्षीय लक्ष्मण गौतम रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले टाईसनलाई ट्रामाडोल ९२ ट्याब्लेट र डाइसे ८५ ट्याब्लेट तथा लक्ष्मणलाई ट्रामाडोल ३ सय १० ट्याब्लेट र स्पासपेन ३ सय ६ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–१० झापा मार्गटोल बस्ने ३१ वर्षीय बब्लु भन्ने मनु मुर्मुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम, डिजिटल मिनि तराजु १ थान, मोबाइल १ थान र नगद १३ हजार ६ सय ५० सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–९ बस्ने २५ वर्षीय अर्जुन बराईली समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र स्पास्पेन १ सय ३ ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने २४ वर्षीय सुजन लिम्बु, ३१ वर्षीय सुमन राई र २७ वर्षीय बिकाश बिकको समेत संलग्नता रहेको खुल्न आएपछि वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई ट्रामाडोल १७ क्याप्सुल र स्पास्पेन १७ क्याप्सुल सहित पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१६ चौकीटोल बस्ने ४० वर्षीय अमित रोका मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार १ सय ट्याब्लेट, एनारगन १ हजार १ सय ट्याब्लेट, नगद ४० हजार ६ सय ७० नेपाली रूपैयाँ र १ सय २० भारतीय रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शरणपुर र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सिन्धुलीको दुधौली नगरपालिका–१० कोक्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही नगरपालिका–४ बस्ने ३७ वर्षीय लाल बाबु अधिकारी समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले दुधौलीबाट डकाहातर्फ आउँदै गरेको बा.२६ प ९३७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया