मंगलबार, वैशाख ९, २०८२

नेत्रहीन विश्वकप क्रिकेट : सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित

नेपालखोज २०८१ मंसिर १६ गते १७:२९

काठमाडौं । नेत्रहीन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।

यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न छ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो ।

लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई एक सय आठ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो । आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए ।

उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यसैगरी बाबर अली ३२ रनमा अविजित रहे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरिले एक विकेट लिए ।

प्रतिक्रिया