ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योग कसूरका फरार ४ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवन बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका–५ घर भएका २० वर्षीय सुमित तामाङ, २० वर्षीय सुसन तामाङ, धादिङ रूबिभ्याली गाउँपालिका–४ घर भएका २५ वर्षीय उम्बे गुरूङ भन्ने उमेश घले र १९ वर्षीय कान्छा भन्ने आशिष गुरूङ रहेका छन् ।
काठमाडौं टोखा नगरपालिका–१० गोंगबुस्थित क्रेजी चिया भट्टीमा २ जना पुरूषहरूलाई भदौ ३० गते राति ज्यान लिने मनसायले काठ र फलामको कुर्ची, हेल्मेट, रड, सिसाको बोत्तल समेतले प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–७ घर भई ललितपुर, ललितपुर महानगरपालिका–१५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषा धनुषाधाम नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ३६ वर्षीय राज कुमार महरा र मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन रहेका छन् ।
पक्राउ मध्ये धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४८ हजार रूपैयाँ, राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ललितपुर महानगरपालिका–१५ बाट र राजकुमारलाई काठमाडौं महानगरपालिका–७ बाट बिहीबार तथा चन्द्रलाई काठमाडौं महानगरालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट छ जना पक्राउ
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने पदार्थ करिब ६ किलो ८ सय ४० ग्राम सहित केन्याका नागरिक ३४ वर्षीया चिलियन केरूबो ओगिटो आइतबार दिउँसो पक्राउ परेका छन् । कतार एयरवेजको उडानद्वारा दोहाबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सारमा जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त कोकिन फेला पारी पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाइएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–६ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय १० मिलिग्राम सहित सोही नगरपालिका–६ रझेना बस्ने ३१ वर्षीया बिश्वनाथ थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सिक्टाबाट रझेनातर्फ जाँदै गरेको भे.७ प २९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–१० सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले से.२ प १९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१ सिभिल टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय रोशन सिंह, २४ वर्षीया वर्षा चौधरी र १५ वर्षीय किशोर रहेका छन् । अस्थायी प्रहरी पोष्ट शान्तिनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
घोराही उपमहानगरपालिका–१५ अमृत टोल बस्ने ५० वर्षीय ठाकुर खनालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ठाकुर समेत १७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ५५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका–९ गैरूनस्थित सडकमा स.८ प ६६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ देउरी बस्ने वर्ष ३५ वर्षीय इन्द्र देव चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङको बेलबारी नगरपालिका–८ एमआई क्रसरस्थित सडकमा को.२ त ७५४८ नम्बरको ट्याक्टर आइतबार दिउँसो दुर्घटना हुँदा चालक सुन्दरहरैँचा नगरपालिका–७ गछिया बस्ने २५ वर्षीय राजु तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सर्लाहीको धनकौल गाउँपालिका–१ छठीघाटस्थित सडकमा प्र.२–०२–००४ प ६८१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया बसमतिया देवीको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको ह्याप्पी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–१ बैरिया बुद्धचोकस्थित सडकमा लु.१ ज ३०६६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६१ वर्षीय पशुपति थापाको आइतबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पिपरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको गढवा गाउँपालिका–३ धैरेनीस्थित सडकमा रा.६ प १७६२ नम्बरको मोटरसाइकल र लु.६६ प ३८१५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा रा.६ प १७६२ नम्बरको मोटरसाइकलमा सवार लमही नगरपालिका–३ मझगाउँ बस्ने ५० वर्षीय राज बहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्साको वीरगंज महानगरपालिका–१३ स्थित सरिसवा पुलमा हाल नम्बर नखुलेको सवारी साधनले प्र.२–०३–००४ प ५६१४ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–१४ परासे बस्ने चक्र सुनुवारको छोरा ४ वर्षीय सरोज सुनुवारको आफ्नो घर नजिकै पार्किङग गरी राखेको स.१ त ७९९८ नम्बरको ट्याक्टरको ट्रलीबाट लडेर आइतबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको विराट टिचिङ्ग हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका–८ पशुपति गाईपालन नजिक सडकपेटीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवास्थित कोशी पलारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ११ वर्षीया बालिका आइतबार मृत अवस्थामा फेला परेकी छिन् । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१ रेल्वे स्टेसनको प्राङ्गणमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया