मंगलबार, वैशाख ९, २०८२

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

नेपालखोज २०८१ मंसिर १८ गते १४:३७

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० भिमसेनस्थान बस्ने ४४ वर्षीय निराजन मानन्धर र पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोट घर भई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने ३० वर्षीय चन्द्र प्रकाश झेडी रहेका छन् ।

पक्राउ मध्ये निराजनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र चन्द्र प्रकाशले बोस्निया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निराजनलाई आइतबार र चन्द्र प्रकाशलाई सोमबार काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

करिब एक सय ११ किलोग्राम गाँजा सहित एक जना पक्राउ

हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केबाट अवैध लागूऔषध गाँजा करिब १ सय ११ किलोग्राम सहित भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षीय महोमद समिरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको बा.१० च ५३३ नम्बरको योद्दा गाडीलाई जाँच गर्ने क्रममा गाडीको ढालामा बालुवा र मलले छोपी राखेको २० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महोमदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

दाङको दंगिशरण गाउँपालिका–३ राउतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय आकाश कँडेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हेकुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित अछाम साँफेबगर नगरपालिका–३ बस्ने ३० वर्षीय चन्द्र बहादुर बुढालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका–१ बस्ने २२ वर्षीय धिरज गुरूङ र २४ वर्षीय नवराज मगरलाई २ ग्राम ४० मिलिग्राम तथा कटहरी गाउँपालिका–१ बस्ने २४ वर्षीय आकाश परियार समेत २ जनालाई १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद ४ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–३ बिरखम बस्ने ६० वर्षीया जसु देवि भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ८७ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बगरकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक सहित दुई जना पक्राउ

बित्थडचिर गाउँपालिका–१ बित्थडखोलाबाट १ थान भरूवा बन्दुक सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–१ बस्ने ४१ वर्षीय पूर्ण बहादुर बोहरा र ३९ वर्षीय राम बहादुर खड्का रहेका छन् ।
प्रहरी चौकी बित्थडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

भोजपुरको हतुवागढी गाउँपालिका–२ धारापानीस्थित सडकमा को.२ त ७२६८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय एक्सन भुजेलको सोमबार साँझ मृत्यु भएको छ । ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा.१ ख १२९१ नम्बरको टिपरले रा.७ प ७४६ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौर बस्ने १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यानको कुमाख गाउँपालिका–६ सेराटोलस्थित सडकमा लु.४ त ६६९४ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका–२ नारायण टाकुरा बस्ने ३६ वर्षीय नबिन कामीको गए राति मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–८ मसुरियास्थित सडकमा सु.प.प्र.०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ रजिया बस्ने नर बहादुर विककी छोरी १३ वर्षीया अमृता विकको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.४२ प ८६२० नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार तिलोत्तमा नगरपालिका–३ बस्ने गुल्मी ईश्मा गाउँपालिका–६ रातमाता घर भएका १९ वर्षीय कृष्ण कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनागाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका २५ वर्षीय उमेश मोक्तान आफ्नै डेरा कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको रतुवामाई नगरपालिका–४ पैयामारी बस्ने ४२ वर्षीय शम्भु मुखिया सोही ठाउँस्थित पैयामारी चोकस्थित बाटोको किनारामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–२ अमृतगंजस्थित आँपको बगैंचामा सोही नगरपालिका–७ झवानी बस्ने ५० वर्षीय जङ्गीलाल महरा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रोल्पाको रोल्पा नगरपालिका–१० धवाङ बस्ने ७७ वर्षीया पिवली सुनार सोही नगरपालिका–१ पानास्थित भिरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० आपखोली बस्ने ५० वर्षीय लोक बहादुर थापा सोही ठाउँस्थित जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया