अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित मोरङ उर्लाबारी नगरपालिका–३ बस्ने ४० वर्षीय खेमराज सुवेदीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट सिटिरिक्सामा नेपालतर्फ आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित भारत त्रिकोलिया थाना मोतिहारी जैसीपुर चिउटई–१२ घर बताउने ६० वर्षीय राजेश्वर महतोलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका–५ बस्ने १९ वर्षीय सुरज गिरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया लोटस गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–२ तेघरी बस्ने २३ वर्षीय सुरेन्द्र भट्ट र २४ वर्षीय धिरेन्द्र धामी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका–३ कदम टोल बस्ने ५५ वर्षीय तेज नारायण साहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिरस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ९० पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा गाउँपालिका–२ संग्रामपुर बस्ने २० वर्षीय रवि मण्डल र २१ वर्षीय रोशन मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले बिआर ३० डिएक्स ६२४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ठगी सम्बन्धी कसूरमा संलग्न प्रतिवादी पक्राउ
ठगी सम्बन्धी कसूरमा संलग्न प्रतिवादी बैतडी पाटन नगरपालिका–४ ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० मिलनचोक बस्ने ३६ वर्षीय करन सिंह बिष्टलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ नगरपालिका–१० मिलनचोकबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफू गृहमन्त्रीको सचिवालयमा पि.ए.को रूपमा कार्यरत रहेको तथा विभिन्न निकायका उच्च पदस्थ व्यक्तिहरूसंग निकट रहेको भनि झुक्यानमा पारी सरकारी जागिर लगाई दिने, सरूवा बढुवा गरी दिने, बैदेशिक रोजगारमा पठाई दिने तथा सरकारी अनुदान रकम उपलब्ध गराई दिने प्रलोभन पारी रकम ठगी गरेको खुल्न आएको छ ।
उनलाई ठगी सम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
चुरे गाउँपालिका–५ खानिडाडा बजार बस्ने अर्जुन सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ९ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१० बस्ने २८ वर्षीय दुखु मिया र २१ वर्षीय तेजराज बिष्ट रहेका छन् ।
मेचीनगर नगरपालिका–१० स्थित भैरव स्टोरबाट गत मंसिर १९ गते राति करिब ३ लाख रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका लताकपडाहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरीका सामानहरू सहित पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरी कसूरमा ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करिब ६० किलो चाँदीको जस्तो देखिने धातु सहित एक जना पक्राउ
जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट चाँदीको जस्तो देखिने धातु करिब ६० किलोग्राम सहित कलैया उपमहानगरपालिका–५ घुसुकपुर बस्ने ३६ वर्षीय कर्म साह सोनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको खुट्टा राख्ने ठाँउमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु फेला पारी चालक सोनारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया