अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका–६ ऐठपुरस्थित त्रिवेणी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–६ ऐठपुर बस्ने २३ वर्षीय राहुल डगौरा र २५ वर्षीय सञ्जु डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय टेक राज जोशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँ बस्ने २९ वर्षीय बिशाल थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट, डाइजेपाम २० एम्पुल, फेनारगन २४ एम्पुल र बुप्रेनुर्फिन ३८ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा, गोरखा नगरपालिका–६ बस्ने ३० वर्षीय समिन जोशी र ३० वर्षीय सलिन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट गोरखातर्फ आउँदै गरेको ना.५ ख ३१४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका–९ खक्रोला पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४० मिलिग्राम सहित सोही नगरपालिका–६ नारायणपुर बस्ने २० वर्षीय बिशाल चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुन जस्तो देखिने पहेंलो धातु सहित तीन जना पक्राउ
काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट सुन जस्तो देखिने पहेंलो धातु करिब ५ सय ५८ ग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो ।
रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उक्त धातु सहित पक्राउ गरेको हो । साथै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पेस्तोल सहित पक्राउ
बलरा नगरपालिका–६ मिर्जापुर बस्ने १९ वर्षीय गोलु भन्ने धर्मजित कुमार सहनीलाई १ थान कटुवा पेस्तोल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बलरा नगरपालिका–६ स्थित गढीमाई मेलामा झै–झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडहिया र इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाग्लुङ, बाग्लुङ नगरपालिका–१० घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजुमा बस्ने ४३ वर्षीय लक्ष्य बहादुर मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौं बबरमहलको २०८१ भदौ १७ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तार्केश्वर नगरपालिका–१० मनमैजुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
मोरङको बिराटनगर महानगरपालिका–७ हाटखोला बसपार्कस्थित सडकमा को.१ ख ३४८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री कानेपोखरी गाउँपालिका–२ मैनाबारी बस्ने २६ वर्षीय माने भन्ने मान बहादुर लिम्बुको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका–९ सलकपुरस्थित सडकमा प्र.१–०२–०५४ प ३५५८ नम्बरको स्कुटरलाई ना.७ ख ३२२३ नम्बरको टिपरले आइतबार राति ठक्कर दिँदा स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका–३ हसनदह बस्ने ४४ वर्षीय एम बहादुर रायमाझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लम्जुङको मर्स्याङदी गाउँपालिका–६ ठुलबेसिस्थित सडकमा ग.१ त ६१४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा सहचालक दुधपोखरी गाउँपालिका–२ भुम्लिचोक बस्ने २५ वर्षीय मेग राज लामाको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवास्थित सडकमा रोकी राखेको स.१ त ५०९८ नम्बरको ट्याक्टरमा स.५ प ९१८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–११ राजपुर बस्ने ४५ वर्षीय जितेन्द्र भगतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ
बाराको आदर्शकोतवाल गाउँपालिका–६ पटेर्वास्थित सडकमा हाल नम्बर नखुलेको अटोको ठक्करबाट पैदलयात्री रौतहट मौलापुर नगरपालिका–७ पिपरिया बस्ने ४५ वर्षीय भिखारी मुखियाको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया