सोमबार, वैशाख ८, २०८२

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०८१ मंसिर २८ गते २०:४४

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२८ बागबजार घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने ४६ वर्षीय मन्जित चित्रकारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

मन्जितले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती २८ वर्षीया सम्झना रसाईलीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–२ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका–६ जरायोटार घर भएका ३७ वर्षीय अमृत रसाईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला

चितवन, रत्ननगर नगरपालिका–२ सिनेमारोड डेरा गरी बस्ने भारत बेतिया बनकट–७ घर भएका ७० वर्षीय रामनाथ गिरी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

दैलेख, नारायण नगरपालिका–१० बस्ने ४८ वर्षीय गोर्ख बहादुर बोगटी आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, घोराही उपमहानगरपालिका–७ डब्बर गाउँ बस्ने ३२ वर्षीय धिरज चौधरी सोही ठाउँस्थित सुखारी कुलोको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका–१ गोस लाईनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बारा, महागढीमाई नगरपालिका–१ गढीमाई मन्दिर नजिकै रहेको खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

पोखरा महानगरपालिका–१ बगरस्थित सुशील गौतमको सुशील मोबाइल एण्ड ईलोक्ट्रोनिक सेन्टरबाट विभिन्न कम्पनीको मोबाइल २५ थान, घडी १५ थान र नगद ६० हजार रूपैयाँ गए राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

ललितपुर महानगरपालिका–१३ कुमारीपाटीस्थित काठमाडौं बानियाटार घर भएका ५० वर्षीय चुडामणी केसीको थेरापी सेन्टरमा करेन्ट सर्ट भई गए राति आगलागी हुँदा थेरापी मेशिन, कपडाहरू, फलामको कुर्सी, टेबल, कार्पेट, बेड लगायतका सामानहरू जलेर करिब ३० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया