सोमबार, वैशाख ८, २०८२

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

नेपालखोज २०८१ पुष ५ गते १२:३८

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ ठेगाना भई काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि बहादुर बस्याल रहेका छन् ।

पक्राउ मध्ये ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र बुद्धि बहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई काठमाडौं बागबजारबाट र बुद्धि बहादुरलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

करिब १ सय १७ किलो गाँजा सहित बारा र मकवानपुरबाट चार जना पक्राउ

बाराको जितपुर सिमरा उपमहानगरपलिका–२२ तीन नम्बर पुलस्थित टावर डाँडाको बिरूवा खोलाको झाडीबाट अवैध लागूऔषध गाँजा करिब ९७ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–२ गडौली टोल बस्ने ३५ वर्षीय बिष्णु लामा र चितवन भरतपुर महानगरपालिका–२४ सिद्धार्थ टोल बस्ने ४६ वर्षीय टेक बहादुर गुरूङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले बिरूवा खोलाको झाडीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी अनुसन्धान गर्ने क्रममा गाँजा ओसारपसारमा संलग्न बिष्णु र टेक बहादुरलाई पक्राउ गरेको हो । साथै प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग भएको बा.११ च ७०१२ नम्बरको कार समेत बरामद गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका–२ ताल्ली बस्ने ३५ वर्षीय सोमीलाल चेपाङ र २० वर्षीय किशोर चेपाङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको गरेको लु.२ ख १७४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

कपिलवस्तुको मायादेवी गाउँपालिका–४ सिमानाको मेन गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका–८ मधुबन बस्ने ३३ वर्षीय केशब बलाल र २८ वर्षीय अर्जुन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.१७ प १६३० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहाको सिरहा नगरपालिका–७ स्थित माँ भगवती बेकरी एण्ड स्विट हाउस अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३ ग्राम १ सय ९० मिलिग्राम सहित बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर बस्ने ३५ वर्षीय सुरेश कुमार महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले प्रदेश २ –०१–००१ प ४८६ नम्बरको मोटरसाइकलका चालक महतोलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २७ मिलिग्राम सहित खजुरा गाउँपालिका–७ बस्ने २८ वर्षीय सवनम खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँके र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

भिमदत्त नगरपालिका–६ ऐठपुर नवदुर्गा मार्ग बस्ने प्रमानन्द भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ७० ग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भट्टले संचालन गरेको किराना पसलमा लागूऔषधको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले भट्टको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै भट्टको पसलबाट लागूऔषध खरिद गर्ने भिमदत्त नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–४ बस्ने बैतडी घर भएका २५ वर्षीय हेमन्त कार्की र धनगढी उपमहानगरपालिका–२ बस्ने बझाङ घर भएका २० वर्षीय पारस रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले हेमन्तलाई १ सय ३० मिलिग्राम र पारसलाई १ सय ९० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–७ बस्ने ३० वर्षीय सुनिल चौलागाईं र झापा गाउँपालिका–४ बस्ने २७ वर्षीय मोहमद अब्दुल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२० प ९१६१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

गौर नगरपालिका–५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ७ सय १५ रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध गाँजा र चरेश बरामद

सप्तरीको बलानविहुल गाउँपालिका–६ शेहरा चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मौवाहबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिले ४ वटा पोका फाली फरार भएश्चात पोका तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङको बिराटनगर महानगरपालिका–१८ लाभाघाटस्थित फोर लाईन सडक छेउबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

पर्साको छिपहरमाई गाउँपालिका–३ बुढगाईस्थित खेतमा धानको परालभित्र लुकाई छिपाई राखेको अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बुढगाईबाट खटिएको प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सिराहाको नरहा गाउँपालिका–३ आर्मी ब्यारेकस्थित सडकमा ना.८ ख ८८२२ नम्बरको टिपरमा प्र.२–०१–००१ प ९२६३ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक गोलबजार नगरपालिका–११ बलगाँवा बस्ने २४ वर्षीय बासु कुमार साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लाइफ लङ्ग अस्पताल गोलबजारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि बिराटनगरतर्फ रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित सडकमा बा.९४ प ९२३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरूषको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको म्याक्स हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको विएण्डवी अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

कास्कीको अन्नपुर्ण गाउँपालिका–१० बिकासे डाँडास्थित सडकमा ग.१ ज ८६२१ नम्बरको स्कार्पियो सडकबाट करिब ६ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा स्कार्पियोमा सवार मुस्ताङ थासाङ गाउँपालिका–१ टुकुचे बस्ने ७० वर्षीया भिम कुमारी थकालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

ललितपुर महानगरपालिका–१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगर काठमाडौं कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बाबाथानस्थित कमलशा शिवालयको सत्संग भवनमा भारत पिलिभित ग्राम अन्दर कोदिभुड बस्ने ७० वर्षीय तल्लु राम राजभर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहटको इशनाथ नगरपालिका–६ बस्ने २८ वर्षीय लालु राउत आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौता टोलस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्ने भाईकाजी श्रेष्ठको घरमा ग्यास हिटर ताप्ने क्रममा ग्यास लिक भई बिहीबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थली गोकर्ण रिसोर्टभित्र रहेको क्यान्टिनमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडा बस्ने ८१ वर्षीय बेल नारायण श्रेष्ठको घर र गोठमा बिहीबार साँझ आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२५ अमृतनगरस्थित सोही महानगरपालिका–२६ बस्ने मोतीलाल गौतमको रोयल कुखुरा फर्ममा शुक्रबार बिहान आगलागी हुँदा फर्म आंशिक रूपमा जलेर क्षति भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया