आइतबार, वैशाख ७, २०८२

शिव शङ्कर हाइड्रो र लक्ष्मी सन्राज क्यापिटलबिच सम्झौता

नेपालखोज २०८१ पुष ५ गते १६:३६

काठमाडाैं । लक्ष्मी सन्राज क्यापिटल लिमिटेड र शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडबिच सम्झौता भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरिने १०० रुपैयाँ अङ्कित दरका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण शेयर निष्कासनको लागि लक्ष्मी सन्राज क्यापिटल लिमिटेडलाई बिक्री प्रर्वन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतामा लक्ष्मी सन्राज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता कार्यक्रममा शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक श्री दीपक राज जोशीको उपस्थिति रहेको थियो ।

शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेड, शिव शङ्कर इन्भेस्टमेन्ट प्रा. ली. र जय गणेश इन्भेस्टमेन्ट प्रा. ली. एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेस्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।

हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एन्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलविद्युत कम्पनीमा लगानी गरेको छ ।

उल्लिखित कम्पनी मध्ये पहिलो तीन कम्पनी सञ्चालनमा आई सकेको र प्राथमिक शेयर निष्कासनको प्रक्रियाका लागि नेपाल धितो पत्र बोर्डमा दर्ता भइसकेको छ । शिव शंकर हाइड्रो इन्भेस्टमेन्ट लिमिटेडले साधारण शेयर निष्कासन पश्चात् उक्त कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया